२ जेष्ठ २०८२, शुक्रबार | Fri May 16 2025


चलचित्र ‘पद्मावती’लाई प्रदर्शनको अनुमति, नाम ‘पद्मावत’ राख्न सुझाव


0
Shares

चलचित्र ‘पद्मावती’मा ऐतिहासिक तथ्यलाई तोडमोड गरेर प्रस्तुत गरिएको विवादका कारण प्रदर्शन गर्ने मिति सरेको चलचित्र पद्मावतीले सेन्सर बोर्डले प्रदर्शन अनुमति दिएको हो ।

पूर्वनिर्धारित तालिकाअनुसार गत डिसेम्बर १० तारिखमा उक्त चलचित्र प्रदर्शन हुने तय भएको थियो ।

भारतीय समाचार संस्था पीटीआइका अनुसार सेन्सर बोर्डले चलचित्रका केही दृश्यहरु हटाउन आदेश दिँदै नाम परिवर्तन गरेर पद्मावत राख्न सुझावसमेत दिएको छ । सेन्सर बोर्डले चलचित्रको प्रदर्शन अनुमति दिएपनि अझै चलचित्रसँग सम्बन्धित विवादको भने अन्त्य भएको छैन् ।

चलचित्रको विरोध गर्दै आएका करणी सेनाले सेन्सर बोर्डको आदेशपछि पनि चलचित्रको प्रदर्शन नगर्न हलमालिकहरुलाई चेतावनी दिएका छन् ।

बीबीसीका अनुसार करणी सेनाका संरक्षक रहेका लोकेन्द्र सिंह कावलीले भनेका छन्, ‘पद्मावतीको वंशज र राजपरिवारसँग सम्बन्धित अन्य ६ जनालाई पनि सेन्सर बोर्डले उक्त चलचित्र देखाएको छ, उनीहरुको राय लिएरमात्रै करणी सेनाले भावी कदम चाल्नेछन् ।’

६ जनामध्ये तीनजनाले सो चलचित्रमाथि रोक लगाउन सिफारिस गरेको आफूले जानकारी पाएको कावलीले बताएका छन् ।

कावलीका अनुसार उक्त चलचित्र रोक लगाउन सिफारिस गर्नेमा पूर्व राजपरिवारका अरविन्द सिंह, इतिहासकार चन्द्रमणि सिंह र के के सिंह छन । उनले भने, ‘मैले तीनजनासँगै कुरा गरेको छु र सबैले रोक लगाउनुपर्ने सुझाव दिएका छन् ।’

सञ्जय लीला भंसालीद्वारा निर्देशित भायकम १८ मोशन पिक्चर्सद्वारा निर्मित उक्त चलचित्रलाई लिएर पछिल्लो समय निकै विवाद भइरहेको छ ।

प्रदर्शनकारीहरुले उक्त चलचित्रमा महारानी पद्मावतीसँग सम्बन्धित ऐतिहासिक तथ्यलाई तोडमोड गरेर प्रस्तुत गरिएको दाबी गर्दै आएका छन् ।

निर्देशक भंसालीले जारी विवादबारे स्पष्टीकरण दिँदै भनेका छन्, ‘म रानी पद्मावतीको कहानीबाट सधैँ प्रभावित रहिआएको छु, यो चलचित्र उनको वीरता र बलिदानप्रति नमन गर्दछ ।’ एजेन्सी