
काठमाडौं, पुस १ । काठमाडौंमा जारी नेपाली कांग्रेसको महासमिति बैठकको दोस्रो दिन बैठकमा प्रस्तुत विभिन्न प्रतिवेदनहरुमाथि छलफल जारी रह्यो । तर बैठकको दोस्रो दिन सकिँदा पनि पार्टीको विधान भने बैठकमा प्रस्तुत हुन सकेको छैन ।
पार्टीको विधानमा मुख्य गरी नेताहरुबीच पदाधिकारीको संख्या र पदाधिकारी चयनको प्रक्रियाबारे विवाद कायमै छ । संस्थापन पक्ष पदाधिकारीको संख्या बढाउन नहुने र बढाए पनि सभापतिलाई मनोनयनको अधिकार दिनुपर्ने अडानमा छ । तर, संस्थापन इतर पक्ष भने केन्द्रीय समितिको आकार बढेसँगै पदाधिकारी संख्या पनि बढाउनुपर्ने अडानमा छ ।
संस्थापन र संथापन इतर पक्षबीचको यही अडानले विधानमा सहमति जुट्न नसकेको हो । महासमितिमा सहभागी अधिकांश सदस्यहरुले पदाधिकारी संख्या बढाउनुपर्ने धारणा राखेका छन् ।
महासमिति सदस्यहरुले प्रत्यक्ष निर्वाचन मार्फत पदाधिकारीहरु चयन गर्नुपर्ने माग राखेका छन् ।
पार्टी पदाधिकारीहरुले विधानमा सहमति जुटाउन औपचारिक र अनौपचारिक छलफल पनि जारी राखेका छन् तर अझै सहमति हुने संकेत देखिएको छैन । बैठकमा पार्टी विधान नै पेश नगरेको भन्दै महासमिति सदस्यहरुले नेतृत्वको तीव्र आलोचना गरिरहेका छन् । उनीहरुले बदलिदो परिस्थिति र संघिय संरचना अनुसार पार्टी पदाधिकारीको संख्या बढाएर जानुपर्ने भन्दै दवाव दिईरहेका छन् ।
कार्यकर्ताको दबाबका बावजुद शीर्ष नेताहरु भने सहमति जुटाउनभन्दा एक–अर्कालाई कमजोर बनाएर विधान पारित गराउने दाउमा छन् ।
प्रतिक्रिया दिनुहोस्