कञ्चनपुरको बंक-नाईल-बुडर सडक निर्माण मापदण्ड विपरित « Image Khabar


कञ्चनपुरको बंक-नाईल-बुडर सडक निर्माण मापदण्ड विपरित


Imagekhabar
१७ पुष २०७४, सोमबार १०:१७

अधुरै काम, त्यसमा पनि स्टिमेट अनुसार नभएको भन्दै स्थानीयले बिरोध गरेका छन् । कञ्चनपुरको बंक–नाईल–बुडर निर्माणाधिन सडकखण्ड मापदण्ड विपरित निर्माण भएको हो ।

सडकखण्ड निर्माणको म्याद सकिन अव मात्र तीन दिन बाँकी रहेको छ तर सडकको ५० प्रतिशत समेत काम हुन सकेको छैन ।

कञ्चनपुरदेखि डोटी जोड्ने यो सडकखण्डअन्तर्गत २२ किलोमिटर भाग कञ्चनपुरमा रहेको छ ।

निर्माणको जिम्मा पाएको आरबी कन्सष्ट्रक्सन प्रालिले सडक डिभिजन कार्यालयसंग साढे ३ किलोमिटर स्तरोन्नती गर्ने सम्झौता गरेको थियो ।

गत आर्थिक बर्षकोे असार मसान्तमै म्याद सकिएर पुन ६ महिना थप गर्दा समेत निर्माण कम्पनीले काम पूरा गर्न नसकेको स्थानीय बताउँछन् ।

थपिएको म्याद भित्र समेत काम गर्न नसकेको र सडकमा अनियमिता भएको भन्दै स्थानीयले छानबिन गर्न माग गरेका छन् ।

अधुरै काम, त्यसमा पनि स्टमेट अनुसार काम नभएको भन्दै स्थानीयले बिरोध गरेका छन् । निर्माण कम्पनीले मापदण्ड विपरित सडक निर्माण कार्य गर्दा समेत सडक डिभिजन कार्यालय मुखदर्शक भएको छ ।

सडकको चौडाई १० मिटर सुधार गर्नुपर्ने भएपनि निर्माण कम्पनीले आधा मात्रै काम गरेको छ । सम्झौता अनुसार निर्माण कम्पनीले काम नगर्दा स्थानीय मारमा परेको स्थानीय बताउँछन् ।

यता, सडक डिभिजन कार्यालय कञ्चनपुरका डिभिजन प्रमुख लक्ष्मी दत्त भट्टले निर्माण कार्यमा ढिलासुस्ती भएको स्वीकार गर्र्दै ठेकेदारलाई हर्जना तिराउने बताउँछन् ।

सडकमा ८ हजार ६ सय ४० घनमिटर माटो हाल्नुपर्ने भएपनि ठेकेदारले दायाबाँयाबाट नाली खनेर सडकमा माटो थुपारिदिएको छ ।

यस्तै २ हजार ९ सय ६० घनमिटर ग्राभिलिङ्ग हाल्नुपर्ने भएपनि त्यो पनि नहालेको देखिएको छ । सडकमा अनियमिता हुँदा हिउँदमा धुलाम्मे र बर्षातमा हिलाम्मे हुने गरेको छ ।

बर्षनी सडक सुधारका लागि करोडौं बजेट आएपनि सम्बन्धीत निकायसंगको मिलोमतोमा कुम्ल्याउने गर्दा सडक सुधार नभएको स्थानीयको आरोप छ ।

प्रतिक्रिया दिनुहोस्