२३ असार २०८२, सोमबार | Mon Jul 7 2025


राष्ट्रियसभाको निर्वाचन मिति र प्रदेशप्रमुख तोक्ने तयारी


0
Shares

प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बिहान बसेको बैठकमा नेपाली कांग्रेसका शीर्ष नेताहरुले प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवालाई सुझाव दिएपछि सरकारको तयारी सुरु हुन थालेको बैठकमा सहभागी नेता बालकृष्ण खाँणले बताए ।

कांग्रेस पदाधिकारी र प्रभावशाली नेतासँगको छलफलपछि प्रधानमन्त्री देउवाले तत्काल प्रमुख दलका शीर्ष नेतासँग आवश्यक परामर्श गर्ने बताएको जनाइएको छ ।

छलफलपछि प्रधानमन्त्री देउवाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्षमन्डलका संयोजक महन्थ ठाकुर र संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवसँग सो विषयमा शीघ्र परामर्श गर्ने बताएका थिए ।

बैठकमा नेताहरुले अविलम्ब प्रदेशप्रमुख नियुक्त गर्न, राष्ट्रियसभा निर्वाचनको मिति तोक्न तथा निर्वाचनका लागि आवश्यक पूर्वाधारलगायत निर्णय गर्न सुझाव दिएका थिए ।

निर्वाचन आयोगका पदाधिकारीले केही दिनअघि प्रधानमन्त्री देउवासँग भेटी राष्ट्रियसभा निर्वाचन मिति तोक्न र प्रदेशप्रमुख नियुक्त गर्न आग्रह गरेका थिए ।

आयोगले प्रदेशसभाको अन्तिम निर्वाचन मतपरिणाम प्रदेशप्रमुखलाई नै बुझाउनुपर्ने कानुनी प्रावधान छ ।

बैठकमा निर्वाचनपछि पार्टीपंक्तिमा तत्काल केन्द्रीय समिति र महासमितिको बैठक बोलाउनुपर्ने आवाज उठेको सम्बन्धमा पनि छलफल भएको नेता खाँणले बताए ।

छलफलमा प्रधानमन्त्री देउवाले पार्टीमा बृहत्तर एकताको आवश्यकता औंल्याउँदै केन्द्रीय समिति र महासमिति बैठक बोलाउने बेला भएकाले सुझाव मागेका थिए ।

सहभागी नेताहरुले राष्ट्रियसभा निर्वाचन तयारीसँगै पार्टीको केन्द्रीय समिति बैठक बोलाउन र उक्त बैठकले नै महासमिति बैठकबारेमा निर्णय लिनुपर्ने सुझाव दिएका थिए ।

बैठकमा पार्टी सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव तथा नेताहरु खुमबहादुर खड्का, पूर्णबहादुर खड्का, विमलेन्द्र निधि, डा. रामशरण महत, डा. प्रकाशशरण महत, महेश आचार्य, डा. मीनेन्द्र रिजाल, खाँणलगायत उपस्थित थिए । रासस