पार्टी एकता र सरकार गठन प्रक्रिया सँगसँगै अगाडि बढ्नुपर्ने माओवादी केन्द्रको निष्कर्ष

मंगलबार पार्टी अध्यक्ष पुष्पकमल दाहालको निजी निवास खुमलटारमा बसेको पार्टी केन्द्रीय कार्यालयको बैठकले निर्वाचनअघि नै पार्टी एकीकरणका लागि छलफल भइसकेकाले पार्टी एकीकरण र सरकार गठन प्रक्रिया सँगसँगै अगाडि बढ्नुपर्ने निष्कर्ष निकालेको हो ।
बैठकले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा कतिपय स्थानमा पार्टीभित्र भएको अन्तर्घातका विषयमा छानबिन गर्न नेता अमिक शेरचनको नेतृत्वमा छानबिन समिति गठन गर्ने निर्णय गरेको छ ।
यस्तै, बैठकले नेता तथा कार्यकर्ताको संगठनात्मक व्यवस्थापन गर्न नेता रामबहादुर थापाको नेतृत्वमा एक कार्यदल गठन गरेको पार्टी प्रवक्ता पम्फा भुसालले जानकारी दिइन् ।
बैठकले बुधबार (भोलि) अध्यक्ष दाहालले पार्टी एकीकरणको विषयमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गर्ने निर्णय पनि गरेको छ ।
बैठकमा समसामयिक राजनीतिक घटनाक्रम, राष्ट्रियसभा निर्वाचन, सरकार गठनलगायतका विषयमा छलफल भएको थियो ।