बृहत राष्ट्रिय शिक्षा अभियान सुरु, २० लाख जनालाई सामेल गराइने • Image Khabar Image Khabar


बृहत राष्ट्रिय शिक्षा अभियान सुरु, २० लाख जनालाई सामेल गराइने


Imagekhabar
२० पुष २०७४, बिहीबार ११:१८

बृहत राष्ट्रिय शिक्षा अभियान सुरु, २० लाख जनालाई सामेल गराइने

काठमाडौं, पुस २० । शिक्षा अभियन्ता अभिषेक घिमिरेको नेतृत्वमा बृहत राष्ट्रिय शिक्षा अभियान सुरु भएको छ ।

शिक्षक, विद्यार्थी र अभिभावकको त्रिकोणात्मक सम्बन्धबाट मात्र शिक्षाको समुचित उद्देश्य प्राप्ति हुने भएकाले यी सबै पक्षलाई समेटेर अभियान थालिएको हो ।

देशभरका करिब पाँंच हजारबढी निजी तथा सामुदायिक स्कुल र कलेज पुगेर बीस लाख भन्दा बढी विद्यार्थी, युवा, शिक्षक र अभिभावकलाई उत्प्रेरणा तथा जागरणसहितको तीन वर्षीय महाअभियानमा अभियन्ता घिमिरे होमिएका हुन् ।

शीप, संस्कार र प्रविधिसहितका तीन खम्बायुक्त शिक्षाको आवश्यकतालाई उजागर गर्दै संस्कारसहितको शिक्षा, शीपसहितको शिक्षा र प्रविधिसहितको शिक्षा जस्ता नारा र मुद्धा लिएर अभियान अघि बढ्नेछ ।

अभियानअन्तर्गत दैनिक कम्तिमा दुईओटा स्कुल र एक कलेजमा पुगेर विभिन्न विषयमा विद्यार्थीलाई सुन्दर अक्षर लेख्ने कला, नैतिक चरित्र निर्माण, विद्यालय तथा सडक सुरक्षा लगायतका विषयमा जानकारी तथा उत्प्रेरणा दिइने अभियन्ता घिमिरेले जानकारी दिए ।

त्यस्तै, साप्ताहिक र मासिक रुपमा हजारौंको सहभागितामा स्वरोजगार र उद्यमशीलताका लागि युवा उत्प्रेरणा, असल आमाबाबु तथा असल अभिभावक, शिक्षक उत्प्रेरणा जस्ता कार्यक्रम आयोजना गरिने छन् ।

त्यस्तै, प्रत्येक महिना शिक्षाविद, शिक्षाकर्मी, स्कुल प्रिन्सिपल, शिक्षा मन्त्रालय र शिक्षा विभागका पदाधिकारी, अभिभावक, विद्यार्थी, पत्रकारलगायत शिक्षासँंग सरोकार राख्ने सबैको उपस्थितिमा शिक्षाका नीति निर्माण, पाठ्यक्रमलगायत राष्ट्रिय शैक्षिक मुद्धामा अन्तरक्रिया तथा छलफल गरिनेछ ।

महाअभियानको यात्रामा भेटिएका अत्यन्त जीर्ण र पिछडिएका समुदायका बालबालिका पढ्ने कुनै पाँंच स्कुललाई नमूना विद्यालयका रुपमा विकास गरिने महाअभियानका अभियन्ता घिमिरेले बताए ।

प्रतिक्रिया दिनुहोस्