
कुमार चौलागाइँ (रासस)
काठमाडौं, मंसिर २९ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका बलर शक्ति गौचनले क्रिकेटबाट सन्न्यास लिएका छन् ।
नेपालले पाएको एकदिवसीय मान्यतापछि नेदरल्यान्ड्सविरुद्धको पहिलो खेल खेल्न त्यहाँ जानुअघि गत साउनमा सन्न्यासको घोषणा गरेका शक्तिले शनिबारदेखि औपचारिक बिदाइ लिएका हुन् ।
त्यतिबेला गौचनले नेपाली दर्शकमाझ नेपालमै बिदाइ खेल खेल्ने इच्छासमेत व्यक्त गरेका थिए ।
सोहीअनुरुप राजधानीमा जारी तेस्रो संस्करणको एभरेस्ट प्रिमियर लिग (इपीएल) टी–२० क्रिकेटमा पोखरा राइनोजबाट शनिबार चितवन टाइगर्सविरुद्ध मैदानमा उत्रँदै क्रिकेटबाट सन्न्यास लिएका हुन् ।
इपीएल क्रिकेटमा पोखरा राइनोजबाट खेलेका शक्तिले चितवनविरुद्ध अन्तिम खेल खेलेका हुन् ।
बिदाइ हुँदै गर्दा शक्ति निकै भावुक देखिएका थिए ।
उनले पत्रकारसँग कुरा गर्दै अब आफ्नो सक्रियता क्रिकेटको विकास र प्रशिक्षणमा रहने बताए ।
‘टी–२० विश्वकपदेखि एकदिवसीयसम्म हरेक ठूला प्रतियोगिता सधैं मेरो स्मरणमा रहिरहनेछ । हरेक समय हामीले एकार्कालाई सहयोग गरेर राम्रो क्रिकेट खेल्ने प्रयास गरिरह्यौं । ती हरेक कुराहरु मलाई याद आइरहनेछन्’–शक्तिले भने ।
सन् २००२ मा सिनियर राष्ट्रिय टोलीमा ‘डेब्यु’ गरेका शक्ति नेपाली क्रिकेटले जुन उचाइ प्राप्त गरेको छ, त्यसका अभिन्न अंग हुन् उनी ।
नेपालले हात पारेका हरेक उपाधिमा शक्तिले आफ्नो उपस्थिति बलियो देखाएका छन् ।
सन् २०१४ को आइसीसी टी–२० विश्वकपमा शक्तिले गरेको प्रदर्शनलाई लिएर उनले शक्ति ‘द पावर’को उपमा पाएका थिए ।
सन् २०१० को एसियन गेम्सदेखि करिब डेढ वर्ष टोलीमा नपरेका शक्तिले त्यसपछि अझ सशक्त पुनरागमन गरेका थिए ।
उनले सन् २०१२ मा भएको आइसीसी टी–२० विश्वकपको विश्वस्तरको छनोटमा १६ विकेट लिएर प्रतियोगिताकै सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा दोस्रो स्थानमा रहेका थिए । उनले डेनमार्कविरुद्धकोखेलमा ह्याट्रिकसमेत गरेका थिए । अन्तर्राष्ट्रिय क्रिकेट ह्याट्रिक गर्ने उनीमात्र एकजना नेपाली खेलाडी हुन् ।
सोही वर्ष भएको एसीसी ट्रफीमा उनले १५ विकेट लिए भने डिभिजन–४ मा १० विकेट हात पारे । डिभिजन–४ अन्तर्गत् मलेसियाविरुद्ध भएको खेलमा उनले विश्व कीर्तिमानी प्रदर्शन गरेका थिए ।
सन् २००१ मा यु–१७ राष्ट्रिय टोलीमा समावेश हुँदै अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न थालेका शक्तिसँग यु–१९ स्तरको विश्वकपसमेत खेलेको अनुभव छ ।
उनी अन्तर्राष्ट्रिय क्रिकेटमा १० पटक ‘प्लेयर अफ दी म्याच’ घोषित भएका छन् ।
सिनियर अन्तर्राष्ट्रिय किकेटमा शतक प्रहार गर्ने थोरै नेपाली खेलाडीको सूचीमा शक्तिको पनि नाम छ ।
भैरहवाका लेग स्पिनर शक्तिले अभिभावकसँग भारतको मुम्बईमा बस्दा बल र ब्याट समाएका थिए ।
मुम्बईमै उमेर समूहको क्रिकेट खेलेका उनले सन् २००० मा यु–१७ टोलीको नेतृत्व गर्दै नेपाली क्रिकेटको यात्रा आरम्भ गरेका थिए ।
शक्तिले भैरहवामा क्रिकेट एकेडेमी चलाएका छन् । शक्ति प्रायः अरुका नकारात्मक कुरा कोट्याउँदैनन् ।
‘शक्ति एकदमै उत्कृष्ट खेलाडी हुन्’–राष्ट्रिय टोलीका कप्ता पारस खड्काले भने–‘उनी सिनियर क्रिकेटर हुन् । शक्तिले धेरै उदाहरणीय कामहरु गरेका छन् । मैले चिनेका क्रिकेटरहरुमा शक्तिजति मिहिनेती कोही देखेको छैन ।’ रासस
प्रतिक्रिया दिनुहोस्