२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


डोटीमा आन्दोलनकारीद्वारा पुत्लादहनदेखि ‘प्रदेश मन्त्रालय’ घोषणासम्म (९ तस्वीर)


0
Shares

बुधबारदेखि आमहडतालको रुप लिएको आन्दोलनमा बिहीबार दिपायल र सिलगढीमा ठूलो संख्यामा भीड उर्लियो ।

बिहीबार पनि जिल्लामा प्रहरी, एम्बुलेन्स, प्रेसबाहेकका सवारी–साधनहरु चलेनन् । बजार, शिक्षण संस्था, सरकारी कार्यालय, गैह्रसरकारी संघ–संस्थालगायत सबै बन्द रहे । दिनभर आन्दोलनकारीले प्रदर्शन गरिरहे ।

बिहीबार दिपायलस्थित सरकारी भवनहरुमा आन्दोलनकारीहरुले ‘प्रदेश मन्त्रालय’का बोर्डहरु टाँसे भने माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य एवं प्रदेश इन्चार्ज लेखराज भट्टको पुत्लादहन गरेका छन् ।

प्रदेश राजधानीका विषयमा भट्ट दिपायलको विपक्षमा रहेको आरोप लगाउँदै आन्दोलनकारीहरुले क्षेत्रीय प्रशासन कार्यालयअगाडि उनको पुत्लादहन गरेका हुन् ।

‘दिपायलको विपक्षमा बोल्ने हरकोहीको पुत्ला दहन हुन्छ । आफ्नै नेता भएपनि चुप लाग्न सकिँदैन’–माओवादी केन्द्रका जिल्ला नेता तेजबहादुर डुम्रेलले भने–‘आज लेखराजको भयो । भोलि दिपायलका विपक्षमा बोल्ने, निर्णय गर्ने अर्को जोकोहीको पुत्लादहन हुन्छ ।’

क्षेत्रीय प्रशासन कार्यालय दिपायलले करिब एक महिनाअघि दिपायलमा रहेका भौतिक संरचनाको अध्ययन गरेर प्रदेश सरकारका संरचनाहरु बस्नसक्ने सम्भावित भवनहरुको ढाँचा सामान्य प्रशासन मन्त्रालयमा पठाएको थियो । आन्दोलनकारीहरुले त्यही भवनहरुमा नै ‘प्रदेश मन्त्रालय’को बोर्ड टाँसिदिएका छन् ।

आन्दोलनकारीहरुले क्षेत्रीय स्वास्थ्य निर्देशनालयको भवनमा मुख्यमन्त्री तथा प्रदेश मन्त्रिपरिषदको कार्यालय र प्रदेश संसद सचिवालय, क्षेत्रीय प्रशासन कार्यालयमा प्रदेश गृह मन्त्रालय, क्षेत्रीय हुलाक निर्देशनालयमा प्रदेशप्रमुखको कार्यालय, क्षेत्रीय अनुगमन तथा सुपरिवेक्षण कार्यालयमा प्रदेश अर्थ मन्त्रालय, क्षेत्रीय शिक्षा निर्देशनालयमा प्रदेश शिक्षा, स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालय, सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयमा प्रदेश पूर्वाधार विकास मन्त्रालय, क्षेत्रीय कृषि निर्देशनालयमा प्रदेश कृषि तथा भूमि व्यवस्थापन मन्त्रालय, क्षेत्रीय पशुसेवा निर्देशनालयमा प्रदेश वन विज्ञान तथा वातावरण मन्त्रालयका बोर्ड टाँसेका छन् ।

क्षेत्रीय प्रशासन कार्यालय दिपायलले सामान्य प्रशासन मन्त्रालयमा पेस गरेको प्रस्तावित ढाँचाअनुसार आन्दोलनकारीहरुले मन्त्रालयका बोर्ड टाँसेका हुन् ।

आफूहरुले सडकबाटै प्रदेश–७ को राजधानी दिपायलमा तोकेको संघर्ष समितिका संयोजक रहेका डोटी उद्योग वाणिज्य संघका अध्यक्ष नरेन्द्र खड्का बताए ।

आन्दोलनकारीहरुले आन्दोलन अझै चर्कोपार्ने चेतावनी दिएका छन् ।

‘हामीले उत्सव मनाउने वा कहर बर्साउने, निर्णय सरकारको हातमा छ’–नेपाली कांग्रेसका जिल्ला नेता विजय खड्काले भने–‘हामी सरकारको आधिकारिक निर्णयको पर्खाइमा छौं । अपेक्षा छ, न्याय हुनेछ ।’

‘दिपायलका विपक्षमा निर्णय भए जस्तोसुकै आन्दोलन गर्नपनि पछि पर्दैनौं’–माओवादी केन्द्रका नेता छवि ओलीले भने ।

एमालेका जिल्ला नेता प्रेमबहादुर शाहले भने–‘आज हडतालमात्रै गरेका छौं । भोलि के–के हुन्छ थाहा छैन ।’