
रानीपोखरी पुनःनिर्माणका लागि सुझाव दिन गठित विज्ञ समूहको बिहीबार बसेको बैठकले पुरानै शैलीमा पोखरी पुनःनिर्माण हुनुपर्ने निष्कर्ष निकालेको हो ।
गत मंगलबार र बुधबार रानीपोखरीमा गरिएको पुरातात्विक उत्खनन्बाट पोखरी पुरानै शैलीमा पुनःनिर्माण गर्नसकिने देखिएको विज्ञ समूहले जनाएको हो ।
उत्खनन्काक्रममा पोखरीको पिंधबाट ९० सेन्टिमिटर तल नै पानीको प्राकृतिक स्रोत फेलापरेको, बाहिरी पर्खालमा माछाकाँडे आकारमा इँटाको पर्खाल रहेको, कालोमाटो प्रयोग भएको र पोखरीमा विभिन्न तहका डिलहरु रहेको पाइएको थियो ।
सो समूहका सदस्य प्रा. डा. सुदर्शनराज तिवारीले केही दिनमा उत्खनन्को प्रतिवेदन महानगरपालिकालाई बुझाउने जानकारी दिए ।
उनले रानीपोखरीभित्र रहेका भनिएका इनारहरु, लिच्छविकालीन भोटाहिटी तथा पोखरीको चारैतिर रहेका ढुंगेधाराहरुको रानीपोखरीसँगको सम्बन्धबारे पनि अध्ययन–अनुसन्धान हुनुपर्ने सुझाव दिइने पनि बताए ।
विज्ञ समूहले रानीपोखरीको चारैतिर ढुंगा–कंक्रिट प्रयोग गरी उठाइएको पर्खाललगायतका संरचनाहरु हटाउनुपर्ने निष्कर्ष पनि निकालेको छ ।
प्रतिक्रिया दिनुहोस्