
काठमाडौं, असार १५ । शान्तिपूर्वक भेला हुन पाउने मौलिक हकप्रति अनुदार बन्दै तोकिएका निश्चित स्थानबाहेक अन्यत्र धर्ना र विरोध प्रदर्शन गर्न सरकारले बन्देज लगाएको छ ।
गृह मन्त्रालयले काठमाडौंका ७, ललितपुरका ६ र भक्तपुरको १ ठाउँलाई विरोध प्रदर्शन स्थल तोकेको छ ।
काठमाडौंमा खुलामञ्च, कोटेश्वरको तीनकुने खुला चौर, भगवान पाउको भुइँखेल चौर, पेप्सीकोला खेल मैदान, सानो गौरचन फुटबल मैदान, लैनचौरको समाज कल्याण परिषद अघिको खुला स्थान र गौशालाको सिफल चौरलाई विरोध प्रदर्शनस्थल तोकिएको छ ।
भक्तपुरमा सल्लाघारीस्थित नेपाल ट्रस्टको ९९ रोपनी जग्गा तथा ललितपुरमा च्यासल खेल मैदान, बज्रबाराही मन्दिरअघिको खुला ठाउँ, गोदावरी बसपार्कको छेउ, भैंसेपाटी च्यासीकोटको खुला स्थान, लुभु ससमुच लामाटार र धोवीघाट मुहान पोखरीको छेउलाई विरोध प्रदर्शन स्थल तोकिएको छ ।
मन्त्रालयमा सोमबार आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्री थापाले नागरिकलाई हिँडडुल गर्न समस्या नपर्ने गरी प्रदर्शनस्थल तोकिएको बताए । तोकिएबाहेकको स्थानमा प्रदर्शन गरे कानुनअनुसार कारबाही गरिने उनले बताए ।
‘हिजोका दिनमा तपाईहरुले पनि सबै ठाउँमा विरोध प्रदर्शन गर्नुभयो, अहिले किन त्यही स्थानमा निषेध गर्दै हुनुहुन्छ ?’ पत्रकारको प्रश्नमा उनले भने, ‘हिजोको कुरा बेग्लै थियो । अब विधिको शासन चल्छ ।’ –कान्तिपुर दैनिकबाट
प्रतिक्रिया दिनुहोस्