काठमाडौं, मंसिर २९ । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा च्यासल युथ क्लबले चौथो जित निकालेको छ ।
शनिबार भएको खेलमा ब्रिगेड ब्वाइज क्लबलाई २–० ले हराउँदै च्यासलले जारी प्रतियोगितामा चौथो जित निकालेको हो ।
ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा च्यासललाई जिताउनेक्रममा सन्तबहादुर गुरुङ र सन्जोक राईले १/१ गोल गरे ।
खेलको ६५औं मिनेटमा सन्तबहादुरले गोल गर्दै च्यासललाई सुरुआती अग्रता दिलाएका थिए । ८२औं मिनेटमा सन्जोकले एक गोल थपेपछि च्यासल २–० ले विजयी भयो ।
खेलको ‘म्यान अफ दी म्याच’ घोषित हुँदै सन्जोकले पुरस्कारस्वरुप १० हजार रुपैयाँ पाए ।
जितसँगै च्यासलले ८ खेलबाट १३ अंक जोडदै लिग तालिकाको पाँचौं स्थानमा उक्लिएको छ । ब्रिगेड ब्वाइज ४ अंकसहित १२औं स्थानमा छ ।








प्रतिक्रिया दिनुहोस्