१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


पार्टी विभाजन नै पराजयको मुख्य कारण : राप्रपा


0
Shares

यही पुस १९ गतेदेखि शुक्रबारसम्म बसेको पार्टी केन्द्रीय कार्यसमितिको बैठकले निर्वाचनको पूर्वसन्ध्यामा भएको पार्टी विभाजन नै पराजयको मुख्य कारण रहेको ठहर गर्दै राष्ट्रवादी शक्तिबीच एकताको पहल गर्ने निर्णय गरेको शुक्रबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा पार्टी अध्यक्ष कमल थापाले जानकारी दिए ।

बैठकले चुनावमा पराजयका निमित्त लोकतान्त्रिक गठबन्धनसँग गरिएको तालमेल पनि कारणकारुपमा रहेको निष्कर्ष निकालेको छ ।

लिखितरुपमा भएको सम्झौतानुरुप नेपाली कांग्रेसले राप्रपालाई प्रतिनिधिसभा र प्रदेशसभामा सिट नदिनु तथा स्थानीय तहमा इमान्दारीपूर्ण सहकार्य नहुनु पराजयको अर्को कारण भएको ठहर गरिएको छ ।

चुनावमा पार्टीको अप्रत्याशित परिणामको कारण र आधारबारे विस्तृत् अध्ययन–अनुसन्धान गरी भविष्यका लागि सुझावसहितको प्रतिवेदन तयार गर्न बैठकले डा. विष्णु भण्डारीको संयोजकत्वमा निर्वाचन समीक्षा तथा अध्ययन समिति गठन गरेको छ ।

समितिमा केन्द्रीय सदस्य गोविन्द खनियाँ, भक्ति सिटौला, चन्द्रेश्वर राय यादव, धनबहादुर बुढा, प्रकाश रिमाल, विजयलक्ष्मी सिंह र श्याम शाही सदस्य छन् ।

आगामी माघमा देशका सम्पूर्ण जिल्लामा जिल्लास्तरीय कार्यकर्ता भेला तथा फागुनको दोस्रो हप्तामा राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनको केन्द्रीय अधिवेशन गर्ने निर्णय पनि गरिएको छ ।

झापा क्षेत्र नम्बर–३ बाट प्रतिनिधिसभा सदस्यमा नवनिर्वाचित पार्टी महामन्त्री राजेन्द्र लिङ्देनलाई बैठकले बधाइ तथा शुभकामना व्यक्त गरेको छ ।

मुलुक र पार्टीको सामुन्ने विद्यमान चुनौतीको सामना गर्दै राप्रपालाई देशको अग्रणी शक्तिकारुपमा स्थापित गर्नेक्रममा पार्टीको वैचारिक एवं सांगठनिक कार्यदिशा, रणनीति र कार्यक्रम तयार गर्न केन्द्रीय परिषद्को बैठक आगामी फागुनको अन्तिम हप्ता वीरगन्जमा आयोजना गरिने भएको छ ।

त्यस्तै, राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको योगदानको स्मरण गर्दै पुस २७ गते पृथ्वीजयन्तीलाई राष्ट्रिय एकता दिवसकारुपमा मनाउने निर्णयसमेत पार्टीले गरेको छ । रासस