२ जेष्ठ २०८२, शुक्रबार | Fri May 16 2025


सरकारी नीतिविपरित बझाङ अस्पतालमा मनपरी शुल्क, सेवाग्राही मर्कामा


0
Shares

सरकारले गर्भवती महिलालाई निःशुल्क सेवा प्रदान गर्ने जनाए पनि जिल्ला अस्पताल बझाङले भने रकम असुल गरेपछि सेवाग्राही मारमा परेका हुन् ।

सरकारले गर्भवती महिलाको स्वास्थ्य परीक्षण निःशुल्क गर्ने निर्णय गरेको छ । तर बझाङ जिल्ला अस्पतालले भने अस्पताल विकास समितिको निर्णय भन्दै त्यस्ता महिलाबाट रकम असुल गरिरहेको छ ।

मंसिर अघिसम्म गर्भवती महिलाको निःशुल्क स्वास्थ्य परीक्षण गरिरहेको अस्पतालले पछिल्ला दिनमा भने शुल्क लिन थालेको हो ।

अहिले एक पटक सेवा लिएवापत २ देखि ३ सय रुपैयाँसम्म अस्पतालले लिने गरेको पीडित महिलाहरु बताउँछन् ।

अस्पताललाई व्यवस्थित ढंगले सुचारु गर्न सेवाग्राहीसँग न्यून शुल्क उठाउन थालेको अस्पतालले जनाएको छ ।

जिल्ला अस्पताल बझाङका प्रमुख डा.अनुप रेग्मीले अस्पताल विकास समितिको निर्णयअनुसार नै सेवा शुल्क उठाउन थालिएको बताए ।

जिल्लामा सञ्चालित निजी क्लिनिकहरुले गर्भावस्थाको चेकजाँच गराएवापत एक सय रुपैयाँ लिने गरेका छन् । तर जिल्ला अस्पतालको सेवा शुल्क भने दोब्बर छ ।

यति मात्र नभई जिल्ला अस्पताल बझाङमा फार्मेसीबाट जम्मा भएको रकम समेत मनोमानी ढंगले खर्च हुने गरेको पाइएको छ ।

जति बेला जस्लाई मन लाग्यो त्यति बेला उसैले फार्मेसीबाट उठेको रकम लिने गरेको अस्पतालका कर्मचारीहरु नै बताउँछन् ।

जिल्ला अस्पताल बझाङभित्रै सञ्चालनमा ल्याइएको उक्त फार्मेसीबाट उठेको रकमको हिनामिना हुँदा समेत सम्बन्धित निकाय मौन छ ।

फार्मेसीबाट उठेको रकम नियमित रुपमा जिल्ला अस्पतालको खातामा जम्मा गर्नुपर्ने भए पनि अहिलेसम्म खातामा जम्मा गरिएको छैन ।

अस्पतालको प्रयोगशालाबाट उठेको रकम समेत हिनामिना हुने गरेको दाबी स्थानीयको छ ।

नेपालका जिल्ला अस्पतालमध्ये सेवा र सुविधाका हिसावले १० औं स्थानमा रहेको बझाङ जिल्ला अस्पताल बाहिरबाट जति राम्रो देखिन्छ, भित्र भने खोक्रो भएको स्थानीयको आरोप छ ।

अस्पतालको अवस्था सुधार गर्न सम्बन्धित सरोकारवाला पक्षले तत्काल ध्यान दिनुपर्ने माग स्थानीयको छ ।