२४ जेष्ठ २०८२, शनिबार | Sat Jun 7 2025


निर्वाचनमा विजयी हुनेको पनि जमानत जफत !


0
Shares

स्थानीय तह निर्वाचन (पहिलो संशोधन) ऐन, २०७४ अनुसार उम्मेदवार बनेका दोलखा जिल्लाका करिब एक हजार उम्मेदवारहरुमध्ये विजयी भएका ३८८ जनाको पनि जमानत जफत भएको हो ।

बहुमतीय प्रणालीअन्तर्गत् मत प्राप्त गरेर विजयी भएको भएपनि उनीहरुको जमानत जफत भएको जिल्ला निर्वाचन कार्यालय दोलखाले जनाएको छ ।

स्थानीय तह निर्वाचन (पहिलो संशोधन) ऐन, २०७४ को दफा ६३ को उपदफा २ अनुसार उम्मेदवार र मनोनयनपत्र स्वीकृत नभएको वा नाम फिर्ता लिएका व्यक्तिले राखेको धरौटी त्यस्तो निर्वाचन परिणाम घोषणा भएकोे मितिले ९० दिनभित्र सम्बन्धित व्यक्तिले फिर्ता लिइसक्नुपर्नेमा फिर्ता लिन नआएपछि जफत गरिएको जिल्ला निर्वाचन कार्यालय दोलखाका लेखाप्रमुख दिनेश खनालले जानकारी दिए ।

लेखाप्रमुख खनालकाअनुसार विभिन्न पार्टीले धरौटी फिर्ताका लागि ताकेता गरेको भएपनि व्यक्तिले दाखिला गरेको धरौटी शुल्क सोही व्यक्तिले नै फिर्ता लिनुपर्ने प्रावधान भएको र व्यक्ति कोहीपनि फिर्ताका लागि नआएकाले धरौटी जफत गरी सञ्चित कोषमा दाखिला गरिएको हो ।

स्थानीय तह निर्वाचनमा ७ लाख ८२ हजार ८०० रुपैयाँ र जिल्ला समन्वय समितिको निर्वाचनमा २२ हजार रुपैयाँ धरौटी जम्मा भएको थियो ।

स्थानीय तहको शतप्रतिशत र जिल्ला समन्वय समितिको कुल धरौटीमध्ये ५ हजार ७५० फिर्ता भइ कुल ७ लाख ९९ हजार ५० रुपैयाँ धरौटी जफत भएको जिल्ला निर्वाचन कार्यालय दोलखाले जनाएको छ ।