
सरकारले राष्ट्रियसभा निर्वाचनको मिति तोकेलगत्तै निर्वाचन आयोगले चुनावका लागि तयारी थालेको छ । निर्वाचनको कार्यतालिका पनि छिट्टै सार्वजनिक गर्ने आयोगले जनाएको छ ।
सरकारले निर्वाचन आयोगकै सुझावअनुसार राष्ट्रियसभाको निर्वाचन मिति माघ २४ गते तोकेको हो । शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले राष्ट्रियसभा निर्वाचनको मिति टुंगो लगाएको हो ।
सरकारले निर्वाचनको मिति तोकेसँगै निर्वाचन आयोग आवश्यक तयारीमा जुटेको छ । निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनमा भाग लिन पुस मसान्तसम्म दल दर्ताको समय तोकेको छ ।
आयोगले निर्वाचनको सबै प्रक्रिया पूरा गर्न एक महिना लाग्ने जनाएको छ । निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले सातै प्रदेशमा मतदाता नामावली संकलन, निर्वाचन कार्यालय खोल्ने, निर्वाचन अधिकृत नियुक्तिलगायतका निर्वाचन कार्यक्रमको तालिका सोमबारसम्म प्रकाशन गर्ने जानकारी दिए ।
यस्तै, मतपत्र छपाइ, उम्मेदवारी दर्ता र दाबी–विरोधलगायतका निर्वाचन कार्य पनि यो अवधिमा हुनेछन् ।
प्रवक्ता ढकालले मतदान केन्द्र, मतपत्रको प्रकार र ढाँचालगायतका विषयमा पनि आयोगले छिट्टै निर्णय लिने जानकारी दिए ।
संविधानको धारा ८६ मा राष्ट्रियसभा गठनसम्बन्धी व्यवस्था छ । यसमा ५९ जना सदस्य रहनेछन् । राष्ट्रियसभामा प्रत्येक प्रदेशबाट ८ जनाका दरले ५६ जना र नेपाल सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत तीनजना सदस्य हुनेछन् ।
राष्ट्रियसभा सदस्य चयन दुईजना बहुमतीय र ६ जना एकलसंक्रमणीय प्रणालीबाट हुनेछन् । राष्ट्रियसभाको निर्वाचनमा प्रदेशसभाका सदस्य ५५० जना र गाउँपालिकाका अध्यक्ष–उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख–उपप्रमुख गरी १५ सय ६ जना गरी जम्मा २ हजार ५६ जना निर्वाचकमन्डल रहनेछ ।
यो निर्वाचकमन्डलले प्रत्येक प्रदेशबाट कम्तीमा तीनजना महिला, एकजना दलित र एकजना अपांगता भएका व्यक्ति वा अल्पसंख्यकसहित ८ जना निर्वाचित गर्नेछ ।
निर्वाचकमन्डलमा प्रदेशसभा र स्थानीय तहको मतभार फरक–फरक छ । प्रदेशसभा सदस्यको ४८ र स्थानीय तहका प्रमुख र उपप्रमुखको १८ हुनेगरी मतभार छुट्याइएको छ ।
राष्ट्रियसभाको मतगणना प्राविधिक दृष्टिकोणले जटिल रहेकाले निर्वाचन सम्पन्न भएको कम्तीमा दुईदेखि तीन दिन लाग्ने अनुमान गरिएको छ ।
संविधानको व्यवस्थाअनुसार अब केन्द्रमा प्रतिनिधिसभा र राष्ट्रियसभा गरी दुई सदन हुनेछन् । तल्लो सदन मानिने प्रतिनिधिसभाको प्रत्येक पाँच वर्षमा निर्वाचन हुनेछ भने राष्ट्रियसभा ६ वर्षको स्थायी सदन हुनेछ ।
प्रतिक्रिया दिनुहोस्