Logo ७ आश्विन २०८३, बुधबार | Wed Sep 23 2026


कैयौं हप्तासम्म आफ्नो मालिक्नीको शव कुर्ने बफादारी कुकुर


13
Shares

हंगेरीको बुडापेस्टस्थित एक अपार्टमेन्टमा प्राकृतिक मृत्यु भएको ६० वर्षीया मालिक्नीको शवलाई कैयौं हप्तासम्म कुरेर बसेको हवानिज प्रजातिको ९ वर्षीय जाजा नाम गरेको कुकुरलाई कमजोर अवस्थामा उद्धारकर्मीहरूले फेला पारेका हुन् ।

बीबीसी’का अनुसार त्यहाँको एउटा घरमा मालिक्नीको मृत्यु भएको कैयौँ हप्तासम्म उनको कुकुर शवलाई कुरेर बसेको पाइएको छ । जाजा नाम गरेको कुकुरलाई निकै कमजोर अवस्थामा फेला पारिएको बुडापेस्टस्थित जनावर अधिकारसम्बन्धी एक अधिकारीले बताए । जाजाकी ६० वर्षीया मालिक्नीको प्राकृतिक मृत्यु भएको बताइएको छ ।

ती अधिकारीहरुले यस घटनालाई कुकुरको बफादारीको उदाहरण भएको बताएका छन् ।

समाचार संस्था रोयटर्सका अनुसार हप्तौंदेखि ती वृद्धा मालिक्नीलाई नदेखेपछि छिमेकीहरूले प्रहरीलाई खबर गरेका थिए । अपार्टमेन्टमा प्रहरीहरू छिर्दा कुकुर आफ्नी मालिक्नीको शवको छेउमा बसिरहेको थियो । प्रहरीहरुले भनेका छन्, ‘कैयौं हप्तादेखि आफ्नी मालिक्नीको शव कुरिरहेकोले जाजाको स्वास्थ्य निकै नाजुक छ ।’

राहत तथा उद्धारकर्मीहरूका अनुसार जाजा निकै कमजोर भइसकेको थियो र उभिन पनि सक्षम थिएन । कुकुरको अवस्थामा अहिले केही सुधार आएको बताइएको छ । त्यसले फेरि पुच्छर हल्लाउन थालेको उद्धार गर्ने संस्थाले जनाएको छ । एजेन्सी

Skip This