
राजनीतिक दल र सामाजिक संघसंस्थाले आइतबार भैरहवामा हत्याको भत्र्सना गर्दै विरोध र्यालीसमेत निकालेका थिए । उद्योगी व्यवसायी बसन्त पौडेलको हत्यारालाई कारबाही गर, शान्ति सुरक्षा कायम गर भन्ने नारा लेखिएका ब्यानरसहित निकालिएको र्याली नगरको विभिन्न ठाउँ परिक्रमा गरी जिल्ला प्रशासन कार्यलयमा पुगेको थियो । सहभागीहरुले लिखित रुपमा प्रशासनलाई ज्ञापन पत्र बुझाएका छन् ।
उद्योग व्यापार संगठन, सिद्धार्थ उद्योग बाणिज्य संघ, सिद्धार्थ होटल एशोसिएसन, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, राप्रपा, संघीय समाजवादी फोरम नेपाल, प्याब्सन रुपन्देही, सामुहिक विद्यालय परिवार, होटल तथा रेष्टुरेन्ट व्यवसायी संगठन, गैरसरकारी संस्था महासंघ रुपन्देही, नेपाल बार एशोसिएसन, सिद्धार्थ एशोसियसन अफ टुर एन्ड ट्राभल एजेन्ट, युवा संघ नेपाल, वाइसीयल नेपाल लगायत संघसंगठनका प्रमुखहरुले संयुक्त रुपमा रुपन्देहीका प्रमुख जिल्ला अधिकारी हरि प्रसाद मैनालीमार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यलयलाई ज्ञापन पत्र बुझाएका हुन् ।
ज्ञापन पत्र बुझाउदैं उद्योग व्यापार संगठन रुपन्देहीका अध्यक्ष नारायण प्रसाद भण्डारी, एमाले रुपन्देही सचिवालय सदस्य हितराज पन्थी, नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य विश्वास बराल, एमाले नेता भरतकुमार पोखरेल लगायतले बसन्त पौडेलको हत्यारालाई पक्राउ गर्न सुरक्षा निकायले ढिलाइ गरेकोप्रति दुखः व्यक्त गर्दै आवश्यक परे संघसंस्थाले सुरक्षा निकायसँग सहकार्य गर्न तयार भएको बताएका थिए ।
संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरुले रुपन्देहीमा त्रासको वातवरण सृजना भएको भन्दैं यस्तै स्थिति रहे उद्योगी व्यवसायी र राजनीतिकर्मी विस्थापित हुने अवस्था आउने बताएका थिए । उनीहरुले हत्याराले फोन गरेर हत्या मैले गरेको हुँ भन्दै खुलेआम राज्यलाई चुनौती दिदा पनि सुरक्षा निकायले केही गर्न नसक्दा सर्वसाधरणमा झनै डर–त्रास सृजना भएको भन्दैं सुरक्षा प्रमुखको ध्यानाकर्षण गराएका थिए ।
ज्ञापन पत्र बुझेपछि रुपन्देहीका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीले बसन्त पौडेलको हत्यारालाई पक्रन राज्य नै लागेको बताउदैं त्यसका लागि सिबीआईको विशेष टोली केन्द्रदेखि नै परिचालन भएको समेत बताएका थिए । सोही अवसरमा संघीय इकाई कार्यलय भैरहवाका प्रमुख एसएसपी दीपक थापाले रुपन्देहीमा शान्ति सुरक्षा र अमनचयन कायम गर्न सुरक्षाकर्मीको टोली दिनरात खटिएको बताए ।
प्रतिक्रिया दिनुहोस्