
पुरातत्व विभागले भौगर्भिक सर्वेक्षण तथा अन्वेषण गरेपछि उत्खनन् सुरु गरिएको हो ।
उत्खननबाट तिलौराकोटको प्राचीन शहरको महत्वपूर्ण भाग फेला पार्ने पुरातत्व विभागका अधिकृत रामबहादुर कुँवरले जानकारी दिए ।
जापानी नागरिक कासाईको सहयोगमा गर्न लागिएको उत्खनन् टोलीमा विज्ञ सहभागी छन् । उत्खनन्को काम ५५ दिनभित्र सकिने बताइएको छ ।
तिलौराकोट दरबारको सेन्ट्रल कम्प्लेक्सको दुई स्थान र समयमाई मन्दिरको किनारमा उत्खनन् गर्न लागिएको हो ।
उत्खनन्सँग बुद्धसँग सम्बन्धित अन्य क्षेत्रको अन्वेषण गरिने भएको छ । पुरातत्व विभाग र लुम्बिनी विकास कोषले सन् २०१४ देखि उत्खनन् र अनुसन्धानको काम गर्दै आएका छन् ।
यसपटक तिलौराकोट क्षेत्रको उत्खननसँगै केही महत्वपूर्ण बुद्धस्थलहरु तिलौराकोट नजिकका चेत्रादेइ, सगरहवा, कर्मा, अरौराकोट, गोटिहवा, निग्लिहवा, सिसहनिया, नवलपरासीको रामग्राममा अध्ययन र अन्वेषण गरिने भएको छ ।
अन्वेषणका क्रममा मेसिन, फिल्ड सर्वेक्षण, भिजिटर सर्वेक्षणलगायतका काम पनि गरिने बताइएको छ ।
तिलौराकोटलाई विश्व सम्पदा सूचीमा राख्न प्रस्ताव गरिएको छ । यसका लागि आवश्यक प्रमाण र कागजपत्रहरु जुटाउने काम भइरहेको छ ।
उत्खनन् टोलीमा बेलायतको दुर्हम विश्वविद्यालयका विज्ञ, पुरातत्व विभाग र लुम्बिनी विकास कोष, त्रिभुवन विश्वविद्यालय, लुम्बिनी विश्वविद्यालयका विद्यार्थी पनि सहभागी छन् ।
प्रतिक्रिया दिनुहोस्