१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


डा.केसीविरुद्धको मुद्दाको सुनुवाई सुरु, दुवै पक्षका कानुन व्यवसायीले बहस गर्दै


0
Shares

सर्वोच्च अदालतका न्यायाधीश पुरुषोत्तम भण्डारी र बमकुमार श्रेष्ठको संयुक्त इजलासमा केसीविरुद्धको मुद्दाको सुनुवाई सुरु भएको हो ।

उनको बयान भने न्यायाधीश ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसेको इजलासले लिएको थियो ।

मुद्दाको सुनुवाईका लागि केसीलाई वीर अस्पतालबाट सर्वोच्च अदालतमा पुर्‍याइएको थियो ।

सर्वोच्चको आदेशपछि सोमबार साँझ पक्राउ परेका डा. केसीलाई हिजो अदालतमा पुर्‍याएर बयान लिइएको थियो । मुद्दाको सुनुवाईका क्रममा आज दुबै पक्षका कानुन व्यवसायीहरुले बहस गर्दै छन् ।

प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामा माग गर्दै १४ औं अनसन सुरु गरेपछि सर्वोच्च अदालतको आदेशअनुसार प्रहरीले डा. केसीलाई पक्रेको थियो ।

सर्वोच्चमा बयान दिने क्रममा डा. केसीले आफूले न्यायालयविरुद्ध नभई प्रधनन्यायाधीशविरुद्ध सत्याग्रह सुरु गरेको बताए ।

उनले प्रधानन्यायाधीश पराजुलीलाई न्यायिक छानबिनको दायरामा ल्याई कारबाही गर्नसमेत माग गरेका छन् ।

बयानमा आफूमाथि लगाइएको आरोप झूठा भएको र प्रधानन्यायाधीश पराजुलीले नै अदालतको अवहेलना गरेकाले उनलाई अदालतको अवहेलनामा कारबाही गर्न मागसमेत केसीले गरेका छन् ।

बहस सकिएपछि अदालतको अवहेलना गरेको ठहरिएमा डा. केसीलाई एक वर्षसम्मको जेल सजायँ वा १० हजार रुपैयाँसम्म जरिवाना वा दुबै हुने व्यवस्था छ ।