२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


ट्रकले बसलाई ठक्कर दिँदा एकजनाको मृत्यु, दुई घाइते


0
Shares

दुर्घटनामा अन्य दुईजना घाइते भएका छन् ।

चितवनका प्रहरी उपरीक्षक दीपक थापाकाअनुसार काठमाडौंबाट मुग्लिनतर्फ आउँदै गरेको ग१ख ५७३१ नम्बरको ट्रकले सोही दिशामा हिँडिरहेको बा१ख ५५५० नम्बरको प्रगति पाठशालाको स्कुल बसलाई पछाडिबाट ठक्कर दिँदा सो दुर्घटना भएको हो ।

दुर्घटनामा परी बसमा सवार इच्छाकामना गाउँपालिका वडा नम्बर–३ का ५५ वर्षीय गणेशप्रसाद सिलवालको मृत्यु भएको प्रहरी उपरीक्षक थापाले बताए ।

बुधबार बिहान भएको उक्त दुर्घटनामा परी गम्भीर घाइते भएका सिलवालको उपचारका लागि भरतपुर अस्पताल ल्याउनेक्रममा बाटोमै ज्यान गएको प्रहरीले जनाएको छ ।

गाडीमा सवार सोही गाउँपालिका वडा नम्बर–४ का दुर्गाबहादुर सिलवाल र बसका चालक वडा नम्बर–३ का ५० वर्षीय रामबाबु श्रेष्ठ गम्भीर घाइते भएका छन् ।

श्रेष्ठको चितवन मेडिकल कलेज र सिलवालको भरतपुर अस्पतालमा उपचार भइरहेको पनि प्रहरीले जनाएको छ ।

ट्रक र बस दुवै सडकबाट करिब ५०/६० मिटर तल त्रिशूली नदी किनारतर्फ खसेको छ । ट्रकका चालक सम्पर्कमा नरहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ ।

बसमा बालबालिका नभएकाले ठूलो क्षति हुनबाट भने जोगिएको छ । रासस