
राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत् मतदाता नामावली प्रकाशन माघ ७ गते हुनेछ ।
उम्मेदवारको मनोनयनपत्र दर्ता माघ १० गतेलाई तोकिएको निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।
उम्मेदवालाई निर्वाचन चिह्न माघ १५ गते प्रदान गरिनेछ भने मतदान २४ गते बिहान १० देखि अपराह्न ३ बजेसम्म सन्चालन हुनेछ । उक्त निर्वाचनको नतिजा माघ मसान्तसम्ममा सार्वजनिक हुने जानकारी दिइएको छ ।
स्थानीय तहका गाउँपालिका अध्यक्ष र उपाध्यक्ष, नगरपालिकाका प्रमुख र उपप्रमुख तथा प्रदेशसभाका सदस्य गरी राष्ट्रियसभा निर्वाचनका लागि दुई हजार ५६ मतदाता रहनेछन् ।
स्थानीय तहका अध्यक्ष, उपाध्यक्ष, प्रमुख र उपप्रमुखले दिने मतभार १८ रहने तथा प्रदेशसभा सदस्यले दिने मतभार ४८ हुनेछ ।
उक्त निर्वाचनका लागि उच्च अदालत रहेको जिल्लामा मतदान केन्द्र तोकिएको आयोगले जनाएको छ ।
आयोगकाअनुसार, धनकुटा, धनुषा, ललितपुर, कास्की, दाङ, सुर्खेत र डोटी जिल्लाका जिल्ला न्यायाधीशलाई निर्वाचन अधिकृत तोकिएको छ ।
उक्त निर्वाचनमा प्रत्येक प्रदेशबाट तीन महिला, एक दलितसहित ८ जनाका हिसाबले सात प्रदेशबाट ५६ उम्मेदवार राष्ट्रिय सदस्यमा निर्वाचित हुनेछन् ।
५९ सदस्यीय राष्ट्रियसभामा सरकारको सिफारिसमा तीनजना राष्ट्रपतिबाट चयन गर्ने संवैधानिक व्यवस्था रहेको छ ।
राष्ट्रियसभा सदस्य निर्वाचन प्रत्येक प्रदेशसभा गठन भएको निर्वाचकमन्डलले दिएको एकलसंक्रमणीय मतप्रणालीका आधारमा हुनेछ ।
आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्ने सन्दर्भमा राजनीतिक दलसँग माघको पहिलो साता छलफल र परामर्श गर्ने जनाएको छ । रासस
प्रतिक्रिया दिनुहोस्