डा. केसी साधारण तारेखमा रिहा, प्रधानन्यायाधीशको नागरिकता र शैक्षिक प्रमाणपत्र पेस गर्न आदेश • Image Khabar Image Khabar


डा. केसी साधारण तारेखमा रिहा, प्रधानन्यायाधीशको नागरिकता र शैक्षिक प्रमाणपत्र पेस गर्न आदेश


Imagekhabar
२६ पुष २०७४, बुधबार १९:१०

डा. केसी साधारण तारेखमा रिहा, प्रधानन्यायाधीशको नागरिकता र शैक्षिक प्रमाणपत्र पेस गर्न आदेश

सर्वोच्चले डा. केसीलाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको हो ।

डा. केसीविरुद्ध परेको अदालतको अवहेलना मुद्दामा बहस सकिएपछि बुधबार न्यायाधीशद्वय पुरुषोत्तम भण्डारी र बमकुमार श्रेष्ठको संयुक्त इजलासले साधारण तारेखमा रिहा गर्न आदेश दिएको हो ।

अदालतले प्रधानन्यायाधीश गोपाल पराजुलीको दुईओटा नागरिकता र शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि पेस गर्न पनि आदेश दिएको छ । यसका लागि जिल्ला प्रशासन कार्यालय र न्याय परिषदमा बुझ्न भनिएको छ ।

अवहेलना मुद्दामा सर्वोच्च अदालतको पक्षबाट वरिष्ठ अधिवक्ता रमणकुमार श्रेष्ठ र श्याम खरेललगायतले बहस गरेका थिए । डा. केसीको पक्षमा वरिष्ठ अधिवक्ता श्रीहरि अर्याल र कृष्णप्रसाद भण्डारीलगायतले बहस गरेका थिए ।

यसअघि, इजलासमा निवेदकको तर्फबाट बहस गरिएको थियो । त्यसलगत्तै डा. केसी पक्षको बहस सुरु भएको थियो ।

सुरुमा आफैं इजलासमा उपस्थित भएर डा. केसीले आफू ‘कसैको रैती नभइ सार्वभौम नागरिक’ भएको बताएका थिए ।

उनले ‘न्यायालय र न्यायाधीशको सम्मान गर्ने तर न्याय बेच्ने जोसुकैविरुद्ध लड्ने र त्यसका लागि जस्तोसुकै सजाय भोग्न तयार’ रहेको बताएका थिए ।

केसीको पक्षमा ९२ वर्षीय वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी, श्रीहरि अर्याल, एकराज भण्डारी दिनेश त्रिपाठी, मेजर थापा, गोपाल शिवाकोटी, समीक्षा थापा, लेखनाथ भट्टराईलगायतले बहस गरेका थिए ।

बहसमा सहभागी हुँदै वरिष्ठ अधिवक्ता भण्डारीले आफूले ‘पहिल्यैदेखि अदालतमा भ्रष्टाचार छ भन्दै आएको र सोही कुरा नेपाल बारले पनि उठाएको’ भन्दै डा. केसीले त्यही विषय उठाउनु जायज भएको तर्क गरे ।

अन्य अदालतहरुमा भएको भ्रष्टाचारको पनि जिम्मेवारी प्रधानन्यायाधीशको हुने भन्दै उनले ‘केसीलाई तत्काल रिहा गरी उनले उठाएका विषयमा पूर्ण इजलासमा छलफल हुनुपर्छ’–भने ।

त्यसअघि, निवेदको तर्फबाट पूर्वमहान्यायाधीवक्ता रमणकुमार श्रेष्ठ, श्याम खरेल, माधव बस्नेत, कुमार रेग्मी, शोभा कार्कीलगायतले बहस गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्