Logo २७ भाद्र २०८२, शुक्रबार | Fri Sep 12 2025


मानव अंग प्रत्यारोपण केन्द्रमा ३८६ जनाको मिर्गौला प्रत्यारोपण


0
Shares

२०६९ साल वैशाख ११ गतेदेखि सेवा सञ्चालन गरेको केन्द्रले हालसम्म ३८६ जनाको मिर्गौला प्रत्यारोपण गरेको र गत वैशाखदेखि हालसम्म मात्र १०४ जनाको मिर्गौला प्रत्यारोपण गरेको केन्द्रका कार्यकारी निर्देशक डा पुकारचन्द्र श्रेष्ठले बताए ।

केन्द्रले चौबिसै घण्टा दैनिक १०० जनाभन्दा बढीको हेमोडायलाइसिस सेवा सञ्चालन गरेको पनि उनले जानकारी दिए । केन्द्रले मुलुकमा नै पहिलो पटक सफल मस्तिष्क मृत्यु भएका व्यक्तिबाट प्राप्त मिर्गौलाको प्रत्यारोपण, सफल कलेजो प्रत्यारोपण गर्नाका साथै सरकारी अस्पतालमा पहिलो पटक इन्डोस्कोपिक अल्ट्रासाउण्ड सेवा सर्वसुलभ रुपमा उपलब्ध गराएको उनले बताए ।

मिर्गौला रोगीको चाप बढेसँगै सेवा थप्दै लगेको केन्द्रले अबको केही दिनमै भक्तपुरमा पहिलोपटक मुटुको ओपन हर्ट सर्जरी सेवा शुरु गर्न लागेको डा श्रेष्ठले बताए । विकास समिति ऐन, २०१३ को दफा ३ अनुसार मानव अंग प्रत्यारोपण विकास समिति गठन आदेश, २०६८ अनुसार गठन भएको यस केन्द्रको नामसमेत परिवर्तन गरी शहीदको नाममा नामाकरण गरेको छ ।

गत पुस १७ गते बसेको मन्त्रिपरिषद्को बैठकले धर्मभक्त मानव अंग प्रत्यारोपण केन्द्र राख्ने निर्णय गरेको थियो । मन्त्रालयबाट परिपत्र आउने बित्तिकै अहिलेको बोर्ड परिवर्तन गरिने उनले जानकारी दिए । (रासस)