
बझाङको थलारा गाउँपालिकाको खोली र सदरमुकाम चैनपुरमा बस्दै आएका बादी समुदायका मानिस बझाङ कै अति विपन्न भनेर चिनिन्छन् ।
२८ परिवार थलारामा र १३ परिवार सदरमुकाम चैनपुर बस्दै आएका बादी समुदायका मानिसको जग्गा जमीन नहुँदा मागेर खाने गरेका छन् ।
गाउँगाउँ डुल्दै नाँचगान गर्ने र माग्दै खाने गरेका बादी समुदायलाई अहिले खान र लगाउनै समस्या भएको छ ।
यो समुदायका कतिपय बालबालिकाको अवस्था त झन् दयनीय छ । अभिभावकविहीन बालबालिकालाई समुदायलेसमेत बेवास्ता गर्दा अपहेलनाको शिकार हुनुपरेको छ ।
आफ्नो जग्गा नहुँदा खेतीपाती गर्न नपाउने र शीपसमेत नहुँदा यो समुदायका मानिसले विभिन्न समस्या खेप्दै आएका छन् ।
कतिपयले अरुको भारी बोकेर र ज्याला मजदूरी गरेर पनि जिविका चलाउँदै आएका छन् । तर, बुढेसकाल लागेपछि एक छाक खानाको जोहो गर्न सक्ने अवस्था समेत नरहेको उनीहरु बताउँछन् ।
हिउँदको चिसोमा रात काट्न यो समुदायका मानिसलाई समस्या भएको छ ।
विगतका वर्षहरुमा विभिन्न सरकारी तथा गैरसरकारी संस्थाहरुले न्यानो कपडा वितरण गर्दै आए पनि यस पटक उनीहरुलाई कसैले सहयोग गरेको छैन ।
प्रतिक्रिया दिनुहोस्