विराज रोस्यारा
कैलाली, मंसिर २७ । आगामी माघमा हुने धनगढी प्रिमियर लिग (डिपीएल) टी–ट्वेन्टी क्रिकेट प्रतियोगिताका लागि मैदान निर्माणको काम सुरु भएको छ । माघ १९ गतेदेखि फागुन ४ गतेसम्म हुने प्रतियोगिताका लागि फाप्ला मैदानमा अहिले पिच निर्माणलगायतका काम धमाधम भइरहेका छन् ।
आइसीसीको अवधारणा अनुसार नै पिच र मैदान निर्माणको काम भइरहेको हो ।
यस वर्षको डिपीएल क्रिकेट प्रतियोगिता धनगढीस्थित फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा गर्ने तयारी भइरहेको छ । यसअघिका दुई संस्करण धनगढीस्थित प्रहरी मैदानमा सम्पन्न भएका थिए ।
पिच निर्माणका लागि टियु क्रिकेट मैदानका क्युरेटर विशन मण्डलसहित भारतका अनुभवी क्युरेटरहरु खटिएका छन् । प्रतियोगिता सुरु हुनुभन्दा १०÷१५ दिन अगाडि नै मैदान तयार गर्ने गरी काम भइरहेको क्युरेटर विशन मण्डलको भनाइ छ ।
पिच निर्माणमा स्थानीय जाली सामुदायिक वनमा रहेको माटो उपयुक्त रहेकाले प्रयोग गरिएको छ । विगतमा भएका खेलमा दुई पिचमात्र बनाएको भए पनि अहिले भने १०÷१० फिटको दूरीमा ५ पिच बन्ने भएका छन् । आइसीसीको मापदण्डअनुसार नै पिच र मैदान बनाइरहेको बताउँदै भारतीय क्युरेटर शेखले मैदानको परिधी ६५ यार्डको रहने बताए ।
रंगशाला निर्माणको जम्मा लागत ५ करोड रुपैयाँ रहने आयोजकको दावी छ । धनगढीमा क्रिकेटको क्रेज बढ्दै गएकाले छिट्टै अन्तर्राष्ट्रिय क्रिकेट मैदान बनाउने उद्देश्य रहेको आयोजक धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवाश शाहीले जानकारी दिए ।








प्रतिक्रिया दिनुहोस्