१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


डोटीमा आयल निगमको ‘लापरबाही’


0
Shares

पेट्रोलपम्पमा आयल निगमले चलान काटेकोभन्दा कम तेल पुग्न थालेपछि व्यवसायीहरु मर्कामा पर्न थालेका छन् ।

अग्रिम भुक्तानी गरेर माग गरेको तेल चार प्रतिशतभन्दा बढी मात्रामा घटेर आउन थालेको व्यवसायीहरुले बताएका छन् ।

डोटीमा अहिले पेट्रोल बिक्री गर्ने एकमात्र पम्प, एसजी फ्यूल सेन्टर छ ।

आयल निगमले पठाएको ट्यांकरमा कम तेल आउन थालेपछि सो पम्पले दुई महिनायता पेट्रोल मगाएको छैन । जसले अहिले जिल्लामा पेट्रोलको अभाव सिर्जना भएको छ ।

आयल निगमले पठाएको तेलको पूरै पैसा लिने तर तेल कम पठाउने गरेपछि आफूले पेट्रोल बेच्न छाडेको व्यवसायी प्रेम भण्डारीले बताए ।

एसजी फ्यूल सेन्टरका सन्चालक भण्डारीले यो समस्याको विषयमा दुई महिनाअगाडि नै आयल निगमको शाखा कार्यालय दिपायल र जिल्ला प्रशासन कार्यालयमा निवेदन पेस गरिसकेको बताए ।

उक्त कार्यालयबाट कुनै प्रतिक्रिया नआएपछि आफूले थप पेट्रोल नमगाएको उनको भनाइ छ ।

सो पम्पले डिजेल भने बिक्री गरिरहेको छ । व्यवसायी भण्डारीकाअनुसार डिजेलमा पेट्रोलकोजस्तो खासै समस्या देखिएको छैन ।

डोटीसहितका पहाडी जिल्लाहरुमा पेट्रोलियम पदार्थ वितरण गर्दै आएको आयल निगम शाखा कार्यालय दिपायलले भने तापक्रमको कारणले पेट्रोलियम पदार्थमा केही मात्रामा गिरावट आउने गरेको दाबी गर्दैआएको छ ।

आयल निगम शाखा कार्यालय दिपायलका कार्यालय प्रमुख निरन मगरातीले दिपायलमा पेट्रोल संकलनका लागि स्टोर नभएकाले आयल निगमको धनगढी कार्यालयबाट पेट्रोलको ट्यांकर आउने गरेको बताउँदै तापक्रम ‘मेन्टेन’ गरेर पम्पहरुलाई वितरण गर्न नसकिने भएकाले यस्तो समस्या देखिएको दाबी गरे ।

उनले भने–‘चिसो मौसममा तराईबाट पेट्रोलको ट्यांकर पहाडमा आउँदा तापक्रम घट्दै जाने गरेकाले केही मात्रामा पेट्रोल ट्यांकरमा नै बाँकी रहने गर्दछ । जसका कारण यस्तो समस्या देखापर्दछ । हामीले पम्पहरुले अर्डरअनुसार तिरेको पैसाको बिल काटिसकेको अवस्थामा पैसा फिर्ता गर्न मिल्दैन ।’

पसलमा पाइन्छ पेट्रोल
दिपायलमा रहेको जेबी आयल स्टोरमा ०७३ चैत २० गते आगोलागी भएयता डोटीमा पटक–पटक पेट्रोल अभाव हुँदै आएको छ ।

अहिले जिल्लामा पेट्रोल बिक्री गर्ने एउटामात्रै पेट्रोलपम्प छ । जसले मगाएको तेलमा गिरावट आएको भन्दै पेट्रोल खरिद–बिक्री गरेको छैन ।

पेट्रोलपम्पमा पेट्रोल नभएपनि डोटीका केही सडकछेउमा रहेका पसल, होटेल तथा ग्यारेजहरुमा पानीको बोतलमा १४० देखि २०० रुपैयाँसम्ममा पेट्रोलको बिक्री–वितरण हुँदै आएको छ ।

डोटीको प्रवेशद्वार, बुडर, गैरा, गोपघाटलगायतका बजारहरुमा पर्ने होटेल तथा पसलहरुमा पेट्रोल खरिद–बिक्री हुने गरेको पाइन्छ ।

त्यस्तै, दिपायलबाट अछाम जाने सडकछेउमा दिपायल, सिलगढी, शान्तिनगर, सानागाउँ, चौखुट्टेलगायतका बजारहरुमा पेट्रोल बिक्री–वितरण हुने गरेको बताइन्छ ।