
डोटी उद्योग वाणिज्य संघको आयोजनामा दोस्रोपटक यो महोत्सव हुन लागेको हो ।
यसअघि, गत वर्ष ‘सुदूरपश्चिम प्रादेशिक महोत्सव’को नामबाट पहिलोपल्ट आयोजना गरिएको थियो ।
शुक्रबार दिपायलमा पत्रकार सम्मेलन गर्दै आयोजकले महोत्सवबारे जानकारी दिएको हो । महोत्सव फागुन ९ गतेसम्म ११ दिन चल्ने जनाइएको छ ।
‘कृषि, पर्यटन, उद्योग–व्यापारको पूर्वाधार, ७ नम्बर प्रदेशको विकासको मूल आधार’ भन्ने नाराकासाथ योपटक महोत्सवको गर्न लागेको संघले जनाएको छ ।
महोत्सवमा सुदूरपश्चिमको महत्व झल्कने लोककलाको प्रदर्शनी तथा यहाँका उत्पादनहरुको विशेष प्रदर्शनी हुने संघले जनाएको छ । यसबाहेक सेतीनदीमा र्याफ्टिङलगायतका ‘प्याकेज’ पनि रहने बताइएको छ ।
आयोजककाअनुसार साँस्कृतिक पर्व भूवा, पुतला, हुड्केउली, गौरा, देउडा, धमारी, छलिया, सखिया, होरी, सोरठीनाच आदि महोत्सवको आकर्षणकारुपमा रहनेछन् ।
यस्तै, यस क्षेत्रका परिकारहरु डुबका, फाँडो, बटुक, छाई, निसोसेजस्ता परिकारहरुको स्वाद महोत्सवमा लिन पाइनेछ ।
महोत्सवमा तीन करोड रुपैयाँभन्दा बढीको कारोबार हुने अपेक्षा संघको छ ।
प्रतिक्रिया दिनुहोस्