Logo १२ माघ २०८२, सोमबार | Mon Jan 26 2026


एमालेद्वारा राष्ट्रियसभाका उम्मेदवारको मापदन्ड तय


0
Shares

पार्टीका महासचिव ईश्वर पोखरेलको अध्यक्षतामा एवं कार्यवाहक अध्यक्ष वामदेव गौतमको प्रमुख आतिथ्यमा पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको बैठकले संविधानको धारा ८७ बमोजिमको योग्यता पुगेका, पार्टीमा लामो योगदान गरेका, पार्टीसँग वैचारिक आबद्धता राख्दै समाजसेवा, संस्कृति, कला, साहित्य, विज्ञान, प्रविधिलगायत सामाजिक क्षेत्रमा विशिष्ट योगदान पुर्‍याएकामध्येबाट भौगोलिक र सामाजिक सन्तुलनका आधारमा उम्मेदवारी चयन गर्ने निर्णय गरेको हो ।

आगामी माघ २४ गते हुने सो सभाको निर्वाचनका लागि एमालेले नेकपा माओवादी केन्द्रसँग तालमेल गर्नेछ ।

यस्तै, स्थानीय, प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नबनेका तथा समानुपातिक सूचीमा नाम समावेश नभएका, विभिन्न विषयका विज्ञ तथा विशेषज्ञलाई प्राथमिकता दिइने भएको छ ।

उम्मेदवारी सिफारिसका लागि प्रदेश संगठन कमिटीको सचिवालय बैठकबाट उपरोक्त मापदन्डअनुसारको नाम सिफारिस गरी माघ ५ गतेभित्र पार्टी केन्द्रीय कार्यालयमा पठाइसक्नुपर्ने एमाले केन्द्रीय सचिवालयका सचिव प्रदीप ज्ञवालीले शुक्रबार जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

बैठकले केही दिनयता तराई–मधेसमा चलेको शीतलहरबाट ज्यान गुमाउने व्यक्तिप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दै तत्काल न्यानो कपडा, दाउरा तथा आवश्यक राहत उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गर्ने निर्णय गरेको छ ।

यस्तै, विगत केही दिनयता फैलिएको भाइरल ज्वरोबाट जाजरकोटमा कयौं व्यक्तिको ज्यान गएको र धेरै गम्भीर बिरामी परेको स्थितिप्रति गहिरो दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जलि अर्पण गरेको छ ।

शीतलहर तथा भाइरल ज्वरोबाट प्रभावित क्षेत्रमा पार्टीका तर्फबाट राहत उपलब्ध गराउन सम्बन्धित तहका पार्टी कमिटीलाई तत्काल परिचालित हुन पनि निर्देशित गरेको छ । रासस