
३० मेगावाट क्षमताको आयोजनाको एक युनिट अर्थात् १५ मेगावाट बिजुली नेपाल विद्युत् प्राधिकरणको राष्ट्रिय प्रसारणलाइनमा जोडिएको आयोजना प्रमुख अजयकुमार दाहालले जानकारी दिए ।
‘आज दिउँसो ३ः३५ बजे ग्रीडमा सिन्क्रोनाइज गरेका छौं’–दाहालले भने ।
आयोजना निर्माण सम्पन्न गर्ने निर्धारित् लक्ष्यभन्दा साढे दुई सय गुणा बढी समय लागेको छ । आयोजना निर्माणमा भएको ढिलाइले समयसँगै लागतसमेत बढेको छ ।
रु ८ अर्ब ३४ करोडमा सम्पन्न गर्ने लक्ष्य लिइएको उक्त आयोजना सम्पन्न हुँदासम्म करिब रु १६ अर्ब लाग्ने अनुमान गरिएको छ ।
आयोजना चाइना गेजुवा ग्रुप अफ पावर कम्पनी (सीजीजीसी)ले निर्माण गरिरहेको छ । प्राधिकरणको ढिलासुस्तीका कारण चमेलियाको बिजुली यहाँका बासिन्दाले तत्काल उपभोग गर्न नपाउने भएका छन् ।
प्राधिकरणले स्थानीयस्तरमा विद्युत् प्रसारणलाइन र सबस्टेसन समयमै निर्माण नगरेकाले जिल्लामै उत्पादन भएको बिजुली बाल्नबाट जिल्लावासी नै वन्चित भएका हुन् ।
दार्चुला र बैतडीको सीमा भएर बग्ने चमेलिया नदीबाट उत्पादन भएको विद्युत्को पहिलो अधिकार भएपनि संरचना निर्माण नहुँदा तत्काल स्थानीयवासीले बिजुली उपभोग गर्न पाउने अवस्था छैन । रासस
प्रतिक्रिया दिनुहोस्