कमिसन कटौतीका कारण नेप्सेको मुनाफा घट्यो • Image Khabar Image Khabar


कमिसन कटौतीका कारण नेप्सेको मुनाफा घट्यो


Imagekhabar
२९ पुष २०७४, शनिबार १५:४६

कमिसन कटौतीका कारण नेप्सेको मुनाफा घट्यो

नेप्सेले आव २०७३/७४ मा रु ३७ करोड २० लाख ८५ हजार ९९२ खुद मुनाफा गर्न सफल भएको छ । आव २०७२/७३ मा नेप्सेले रु ४७ करोड ४९ लाख ६० हजार ८२२ नाफा गरेको थियो ।

ब्रोकर कम्पनीलाई दिइँदै आएको कमिसनमा ३० प्रतिशतको कटौतीका कारण नेप्सेको मुनाफामा कमी आएको हो ।

नेपाल धितोपत्र बोर्डले सेयर दलाल कम्पनीलाई सेयर कारोबारबापत दिइँदै आएको कमिसनमा भारी कटौती गरेपछि नेप्सेको मुनाफा घटेको प्रवक्ता मुरहरि पराजुलीले जानकारी दिए ।

नेप्सेले गत आवमा रु ४६ करोड ७८ लाख २३ हजार ६७ धितोपत्र कारोबारबाट आम्दानी गरेको छ भने अघिल्लो वर्ष रु ६९ करोड ६१ लाख ९४ हजार ४७३ आम्दानी गरेको थियो ।

गत आवमा १०१ ओटा संगठित संस्थाले धितोपत्र निस्कासन गरी रु ५९ अर्ब ३९ करोड ५४ लाख बराबरको पुँजी परिचालन गरेका छन् ।

प्राथमिक बजारतर्फ रकमका आधारमा अघिल्लो आवको तुलनामा परिचालित रकममा करिब २१२ दशमलव ६३ प्रतिशतले वृद्धि भएको छ भने पुँजी परिचालनकर्ता संगठित संस्थाको संख्यामा ८३ दशमलव ६४ प्रतिशतले वृद्धि भएको छ ।

यस्तै, दोस्रो बजारमा आव २०७२/७३ मा रु एक खर्ब ६३ अर्ब ९५ करोड बराबरको धितोपत्रको कारोबार भएकोमा आव २०७३/७४ मा २४ दशमलव ९० प्रतिशतले वृद्धि भइ रु दुई खर्ब चार अर्ब ७९ करोड बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

परिणामस्वरुप दैनिक औषत कारोबार अघिल्लो वर्षको तुलनामा रु ७० करोड ३६ लाखबाट बढेर रु ८९ करोड तीन लाख पुगेको छ ।

कारोबार संख्यातर्फ आव २०७२/७३ मा ८ लाख ३६ हजार ९०२ ओटा कारोबारबाट ३० करोड २० लाख २० हजार कित्ता सेयर खरिद–बिक्री भएकोमा आव २०७३/७४ मा १३ लाख ५५ हजार ५८५ कित्ता सेयर कारोबारबाट ३९ करोड ३५ लाख ३८ हजार कित्ता सेयर खरिद–बिक्री भएको छ ।

अघिल्लो आवको तुलनामा ६९ दशमलव ९८ प्रतिशतले वृद्धि भएको छ भने कारोबार भएको सेयर कित्तामा गणना गर्दा २९ दशमवल ९९ प्रतिशतले वृद्धि भएको नेप्सेले जनाएको छ ।

घट्यो बजार पुँजीकरण
आव २०७२/७३ मा रु १८ खर्ब ९० अर्ब रहेको नेपालको धितोपत्र बजार पुँजीकरणका १ दशमलव ७९ प्रतिशतले कमी आइ आव २०७३/७४ मा रु १८ खर्ब ५६ अर्ब कायम भएको छ ।

आव २०७२/७३ मा नेप्सेमा सूचीकृत कम्पनीको संख्या २२९ रहेकोमा आव २०७३/७४ मा थप १२ कम्पनी सूचीकृत भएका छन् ।

यस्तै, ३३ कम्पनी एक आपसमा गाभिएर तथा प्राप्ति भइ उक्त संख्या २०८ कायम भएको छ ।

समीक्षा वर्षमा कुल १७३ कम्पनीको रु ३५ अर्ब १७ करोड बोनस सेयर एवं ७३ कम्पनीको रु ३० अर्ब ४६ करोड ४८ लाख बराबरको हकप्रद सेयर सूचीकृत गरिएको छ । परिणामस्वरुप समीक्षा वर्षको अन्त्यमा कुल रु एक खर्ब ३६ अर्ब ३४ करोड ६९ लाख बराबरका शेयर सूचीकृत भएका छन् ।

यस अवधिमा रु तीन अर्बको तीनओटा सामूहिक लगानी कोषको एकाइ, ५७ करोड २२ लाख बराबरको तीन कम्पनीका थप सेयर र रु ६२ अर्बको तीन प्रकारका सरकारी ऋणपत्रसमेत सूचीकृत भएको नेप्सेले शनिबार सार्वजनिक गरेको वार्षिक प्रतिवेदनमा उल्लेख छ ।

नेप्सेमा आव २०७२/७३ मा १३१ सूचीकृत कम्पनी ‘क’वर्गमा वर्गीकृत भएकोमा आव २०७३/७४ मा १११ कम्पनी ‘क’ वर्गमा वर्गीकृत छन् ।

आव २०७२/७३ को अन्त्यमा एक हजार ७१८ दशमलव १५ पुगेको नेप्से परिसूचक समीक्षा वर्षको अन्त्यमा एक हजार ५८२ दशमलव ६७ झरेको छ । उक्त परिसूचक अघिल्लो आवको तुलनामा ७ दशमलव ८९ प्रतिशतले घटेको हो ।

५० प्रतिशत नगद लाभांश बाँडिदै
नेप्सेको ३६औं वार्षिक साधारणसभाले ५० प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ ।

नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदकाअनुसार शनिबारको साधारणसभाले रु १५ करोड लाभांश वितरण गरेको छ ।

जसअनुसार सरकारलाई कुल लाभांशको ५८ प्रतिशतअर्थात रु ८ करोड ७० लाख जानेछ ।

यसैगरी, नेपाल राष्ट्र बैंकले कुल लाभांशको ३५ प्रतिशत अर्थात् रु पाँच करोड ३५ लाख पाउनेछ भने एनआइडीसी डेभलपमेन्ट बैंकले ६ प्रतिशतअर्थात रु ९० लाख मुनाफा पाएको छ ।

नेप्सेमा सरकार, राष्ट्र बैंक र एनआइडीसी डेभलपमेन्ट बैंकसहित केही सेयर दलालको सेयर रहेको छ । रासस

प्रतिक्रिया दिनुहोस्