
कैलालीको गोदावरीमा बाह्र राशी मकर मेलाको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले अहिलेसम्म दलीय सहमतिको प्रयास गर्दा प्रदेश प्रमुख र राजधानी तोक्न ढिलाइ भएको बताए ।
प्रधानमन्त्री देउवाले अब सहमति भएपनि नभएपनि तीन दिनभित्र प्रदेश प्रमुख र राजधानी सरकारले तोक्ने बताए । निर्वाचनमा कसैको बहुमत नआएको बताउँदै देउवाले संसद गठन नभएकाले कसलाई सत्ता सुम्पने भन्ने अन्योल देखिएको बताए ।
कानुनी प्रकृया, संविधानको दायरा केही नबुझीकन सत्ता हस्तान्तरणको मागमात्र अलापेर नहुने बताउँदै प्रधानमन्त्री देउवाले अबको प्रधानमन्त्री को हुने हो, कानुनसम्मत रुपमा अगाडि आए एक मिनेटमै सत्ता छोड्न आफू तयार रहेको बताए ।
राष्ट्रिय सभा निर्वाचनपछि संसदले पूर्णता पाउने भएकाले त्यसपछि मात्र नयाँ सरकार गठन हुने देउवाले बताए । कैलालीको गोदावरी तीर्थस्थलमा आयोजित सभामा प्रधानमन्त्रीले यस क्षेत्रका धार्मिक तथा पर्यटकीय महत्व बोकेका क्षेत्रहरुको विकासका लागि आफ्नो सदैव प्रयत्न रहिरहने बताए ।
उक्त अवसरमा गोदावरी धाम विकास समितिका अध्यक्ष वरिष्ठ साहित्यकार पदमराज जोशी, सांसद नारदमुनी राना र गोदावरी नगरपालिका प्रमुख हरिसिंह साउदले प्रधानमन्त्रीलाई गोदवारी धाम विकासका लागि सरकारका तर्फबाट गुरुयोजना निर्माण गरि काम थाल्न आग्रह गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्