
काठमाडौं, असार १४ । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचनमार्फत् जनताले दिएको जिम्मेवारी पूरा गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
आफूले नाकाबन्दीको युग समाप्त गरेको भन्दै उनले अबदेखि छिमेकी मुलुकको हेपाहा प्रवृत्ति सहन नपर्ने जिकिर गरे ।
तत्कालीन नेकपा एमालेका महासचिव मदन भण्डारीको ६७औं जन्मजयन्तीको अवसरमा बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले पानीजहाजको कुरा गर्दा विरोध गर्नेहरुलाई आगामी पुस १६ मा पानीजहाज चढेर कोलकाता जान निम्ता दिए ।
विकासको बाधककारुपमा रहेका दूरदराजका बस्तीलाई सुगममा एकीकृत बस्ती निर्माण गर्ने उनको भनाइ थियो ।
कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले मुलुकलाई समाजवादतर्फ उन्मुख गराउनसकेमात्र कम्युनिस्ट पार्टी एकीकरणको औचित्य पुष्टि हुने धारणा राखे ।
यस्तै, नेपाली कांग्रेसकी नेत्री सुजाता कोइरालाले मुलुकको विकासका निम्ति सरकारलाई सधैं सहयोग रहने भन्दै सरकारले पनि प्रतिपक्षको समर्थन जुटाउन सक्नुपर्ने बताइन् ।
संघीय समाजवादी फोरम नेपालका अध्यक्ष एवं उपप्रधानमन्त्री उपेन्द्र यादवले मुलुकलाई आर्थिकरुपमा सक्षम बनाउनसकेमात्र समाजवादको दिशातर्फ जानसकिने धारणा राखे ।
कार्यक्रममा वरिष्ठ कलाकार हरिप्रसाद शर्मा र पर्वतारोही लाक्पा शेर्पालाई मदन भण्डारी राष्ट्रिय पुरस्कारबाट सम्मानित गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्