विभिन्न जिल्लामा माघे संक्रान्ति मेला भर्नेको घुँइचो • Image Khabar Image Khabar


विभिन्न जिल्लामा माघे संक्रान्ति मेला भर्नेको घुँइचो


Imagekhabar
१ माघ २०७४, सोमबार १२:४३

विभिन्न जिल्लामा माघे संक्रान्ति मेला भर्नेको घुँइचो

मेला भर्न बिहानदेखि नै देशका विभिन्न क्षेत्र र भारतबाट हजारौं तीर्थालु देवघाट पुगेका छन् । नेपालकै चार धाममध्ये एक रिडीको रुरुक्षेत्रमा माघे संक्रान्तिको अवसरमा बिहानैदेखि काली गण्डकीमा स्नान गरी पूजाआजा गर्नेको भिड लागेको छ ।

माघे संक्रान्तिका अवसरमा पाल्पा, गुल्मी र स्याङ्जाको संगम स्थल रुरु (रिडी) क्षेत्रमै रहेको ऋषिकेशव मन्दिरमा पुजाआजा गर्ने श्रद्धालुको लाम लागेको हो ।

त्यस्तै सिन्धुलीको कमला र गौमती नदीकोे संगमस्थलमा अवस्थित ऐतिहासिक तथा पवित्र प्रसिद्व धार्मिक तिर्थस्थल कमलामाईस्थानमा मकर संक्रान्तिका मेला शुरु भएको छ । मकर संक्रान्तिका अवसरमा मेला भर्न आएका हजारौं भक्तजनहरुले बिहानैदेखि पवित्र कमलानदीमा स्थानगरी कमलामाई स्थानमा पूजा अर्चना गरी पाठी, परेवा, कुखुरा र हाँसको बली चढाएर भाकलसमेत पूरा गरेका छन् ।

उता, इलामको माइबेनीमा पनि माघी मेला लागेको छ । इलाम नगरपालिका– नामसालिङ र गोदकको संगमस्थलका रुपमा रहेको माइ र जोगमाइ खोलाको दोभानमा बिहानैदेखि मकर नुहाउने र खोलामा पूजा–आजा गर्नेको भीड लागेको छ ।
मेलामा इलाम, पाँचथर तथा भारतका मिरिक, दार्जिलिङदेखिका सर्वसाधारण सहभागी भएका छन् ।

कपिलबस्तमा पनि धुमधामका साथ मकर संक्रान्ति मनाईदैछ ।

जिल्ला सदरमुकाममा रहेको प्राचीन तौलेश्वरनाथ शिवजी मन्दिरमा खिचडी चढाउन श्रद्धालु भक्तजनको विहानैदेखि घुईंचो लागेको छ ।

यसैगरी बाणगंगा नदी, लक्ष्मणघाट, रामघाट, कपिलधामलगायत स्थानमा माघ स्नान गर्ने भक्तजनको भीड लागेको छ । यस दिन बिहानै तीर्थस्थलमा गई स्नान गरेर तिल दान गर्नाले सुन दान गरेसरह पूण्य प्राप्त हुने धार्मिक विश्वास छ ।

प्रतिक्रिया दिनुहोस्