
कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिको विगत ३ वर्षदेखिको तथ्याङ्क अनुसार सखरखण्डमा ५२ प्रतिशतले, पिंडालुमा ३१ प्रतिशतले एवं तरुलमा २० प्रतिशतले मूल्य बृद्धि भएको हो ।
सामान्य समय भन्दा यस समयमा पिंडालु, सखरखण्ड र तरुलको माग धेरै हुनाले मूल्य पनि एक्कासी बढ्ने गरेको कालीमाटी फलफूल तथा तरकारी बजारका व्यापारीको भनाई छ ।
हाल किसानको उत्पादन लागत बढ्नाले पनि भाउमा धेरै बृद्धि आएको उनिहरुको दाबी छ ।
माघे सक्रान्तिमा हुने अत्याधिक मागलाई लक्षित गरी कालीमाटी बजारमा पुस महिनामा मात्रै करिव ७ सय टन तरुल, १ सय ५ टन सखरखण्ड र १ सय १५ टन पिंडालु भित्र्याइएको थियो ।
उपत्यकाको अन्य तरकारीको माग धान्न भारतबाट भित्र्याउने गरेतापनि तरुल, पिंडालु एवं सखरखण्डको मागलाई भने नेपाली उत्पादनले नै धानीहरुको व्यापारीको भनाई छ ।
हाल कालीमाटी बजारमा भित्र्याएको तरकारी एवं फलफूल अघिल्लो सालभन्दा मंहगो भएको सर्वसाधारणको गुनासो छ । तरुल, सखरखण्ड र पिंडालुमा ५० प्रतिशत माथि मूल्य बढेको सर्वसाधारणको भनाई छ ।
कालीमाटी तरकारी बजारमा करिब ५० प्रतिशत तरकारी सर्लाही जिल्लाबाट आउने गरेको जनाइएको छ ।
बाँकी ५० प्रतिशत भने धादिङ, चितवन, काभ्रे, मकवानपुर, नुवाकोट, नवलपरासी, पाल्पा जिल्लाबाट ल्याउने गरेको जनाइएको छ ।
उपभोक्ताहरुले सेतो, रातो, घर, हात्ति पाइले, पाताले, पानी, बन र सिमल जातका तरुल बढी रुचाउने गरेको व्यापारीहरु बताउँछन् ।
सखरखण्ड भने सेतो जातको बढी ल्याउने गरिन्छ छ । माघे संक्रान्ति पछि भने तरुल, सखरखण्ड र पिंडालुको मूल्य ह्वात्तै घटेर जाने व्यापारीले जनाएका छन् ।
तर बजारमा अन्य तरकारीको मूल्य पनि अस्वाभाविक बृद्धि भएको छ । यसमा सरकारी अनुगमन भै विचौलिया नियन्त्रण गरिनुपर्नेमा सर्वसाधारणको जोड छ ।
प्रतिक्रिया दिनुहोस्