१४ बैशाख २०८२, आइतबार | Mon Apr 28 2025


विमान खरिदबारे छानबिन गर्न लेखा समितिले बनायो उपसमिति


0
Shares

काठमाडौं, मंसिर २६ । प्रतिनिधिसभाअन्तर्गत्को सार्वजनिक लेखा समितिले नेपाल वायुसेवा निगमको ‘वाइडबडी’ विमान खरिद प्रक्रियामा भएको भनिएको अनियमिततासम्बन्धी छानबिन गर्न उपसमिति गठन गरेको छ ।

समितिको बुधबार सिंहदरबारमा बसेको बैठकले सांसद राजेन्द्र केसीको संयोजकत्वमा ७ सदस्यीय उपसमिति गठन गरेको हो ।

उपसमितिको सदस्यहरुमा कृष्णलाल महर्जन, चन्दा चौधरी, प्रदीप यादव, प्रेम आले, धर्मशीला चापागाइँ र मीना सुब्बा छन् ।

उपसमितिलाई १५ दिनभित्र प्रतिवेदन बुझाउन समयसीमा दिइएको लेखा समितिका सभापति भरत शाहले बताए ।

समितिले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री, सो मन्त्रालयका सचिव, वायुसेवा निगमका कार्यकारी अध्यक्ष एवं महाप्रबन्धकलगायतलाई बोलाएर समितिमा गरेको छलफल, महालेखापरीक्षकको प्रतिवेदन, सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिवलगायतलाई बोलाएर विमान खरिदबारे सोधेको थियो ।

सोही छलफल एवं सार्वजनिक खरिद अनुगमन कार्यालयले समितिमा बुझाएको प्रतिवेदनलाईसमेत आधार बनाएर उपसमितिले प्रतिवेदन तयार पार्नेछ ।

सार्वजनिक खरिद अनुगमन कार्यालयले विमान खरिदकाक्रममा सार्वजनिक खरिद ऐनअनुसार नभएको प्रतिवेदन लेखा समितिलाई बुझाएको छ ।