१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


रसुवाका पाँच हजारभन्दा बढी भूकम्प पीडितले पुरा गरे दोस्रो किस्ताका लागि प्रक्रिया


0
Shares

गत वर्ष माघ महिनाअघि पहिलो किस्ता बुझेका लाभग्राहीमध्ये पुस मसान्त सम्ममा पाँच हजार दुई सय लाभग्राहीले मात्र दोस्रो किस्ताको लागि प्रक्रिया पूरा गरेका हुन् । सहरी विकास तथा सहरी विकास निर्माण विभाग डिभिजन कार्यालयका अनुसार ४५ प्रतिशत लाभग्राहीले मात्र दोस्रो किस्ता पाउने भएका छन् ।

२० औँ भूकम्प सुरक्षा दिवस सदरमुकाम धुन्चेमा मनाई रहँदा जिल्लामा अझै पनि आफूखुशी घर बनाउने क्रम बढिरहेको छ । जिल्लाका दुई हजारभन्दा बढी भूकम्प पीडितले आफूखुशी घर बनाएका कारण उनीहरु प्र्रक्रियामा नआएका हुन् ।

कतिपय लाभग्राहीले चिसो मौसम, चाडपर्व, विभिन्न चरणमा भएको चुनाव, कामदारको अभाव, निर्माण सामग्रीको अभाव लगायतका कारण निजी आवास निर्माण हुन नसकेको बताएका छन् । २०७३ माघ महिनापछि पहिलो किस्ता बुझेका लाभग्राहीले पनि चैत महिनासम्ममा दोस्रो किस्ता बुझिसक्नु पर्ने समयसीमा तोकिएको छ ।

जिल्लामा ११ हजार ६ सय २९ लाभग्राही छन् । जिल्लामा रहेका लाभग्राहीमध्ये १० हजार एक सय ५९ सँग अनुदान सम्झौता भएको छ ।