२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


प्रदेश राजधानी माग गर्दै धनकुटा र दाङमा आमहडताल, जनजीवन प्रभावित


0
Shares

धनकुटाबासीले केही दिनदेखि मत्थर बनाउँदै लगेको आन्दोलनलाई आजदेखि कडा बनाएका छन् ।

विभिन्न राजनीति दलका स्थानीय नेताको अगुवाइमा धनकुटाबासीले आमहड्ताललाई प्रभावकारी बनाउने निर्णय गरेका हुन् ।

उनीहरु आज ठाउँगाउँमा प्रदर्शन गर्दै प्रदेश नम्बर १ को राजधानी धनकुटालाई नै बनाउनुपर्ने माग गरेका छन् ।

पर्याप्त पूर्वाधार हुँदाहुँदै सरकारले धनकुटालाई प्रदेश राजधानी बनाउन आनाकानी गरिहेको भन्दै उनीहरुले सरकार विरोधी नारा लगाएका छन् ।

आमहड्तालका कारण धनकुटाका यातायात, कलकारखाना, शैक्षिक संस्था र बजार ठप्प भएका छन् ।

जिल्लाका कुनै पनि सडकमा सवारी साधन सञ्चालनमा आउन सकेका छैनन् ।

धनकुटाका प्रदेशसभा सदस्यहरु निरन राई र ईन्द्रमणी पराजुलीसहित नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, संघीय समाजवादी फोरमका नेताहरुले आमहड्तालको नेतृत्व गरिरहेका छन् ।

यसैगरी दाङलाई प्रदेश नम्बर ५ को राजधानी बनाउनुपर्ने माग गर्दै दाङ प्रादेशिक राजधानी सरोकार समितिले गरेको आमहड्तालले त्यहाँको जनजीवनसमेत प्रभावित भएको छ ।

आमहड्ताल आह्वानकर्ताहरुले घोराही, तुलसीपुल, लमहीलगायतका क्षेत्रमा बिहानैदेखि प्रदर्शन गरिरहेका छन् ।

आमहड्तालमा नागरिक अगुवा, उद्योगी, व्यवसायी एवम् स्थानीयबासीले समेत साथ दिएका छन् ।

जिल्लाका यातायात, बजार, शैक्षिक संस्था, कलकारखाना ठप्प भएका छन् । दाङलाई प्रदेश राजधानी घोषणा नभएसम्म आन्दोलन जारी राख्ने चेनावती समितिले दिएको छ ।