प्रभावकारी भएन रातिमा काम, फेरि दिउँसोमा सवारी रोकेर काम गर्ने तयारी • Image Khabar Image Khabar


प्रभावकारी भएन रातिमा काम, फेरि दिउँसोमा सवारी रोकेर काम गर्ने तयारी


Imagekhabar
३ माघ २०७४, बुधबार १५:१२

प्रभावकारी भएन रातिमा काम, फेरि दिउँसोमा सवारी रोकेर काम गर्ने तयारी

काम प्रभावकारी नभएपछि गत वर्षझैं दिउँसोमा सवारी रोकेर सडक विस्तारको काम गर्ने गृहकार्य थालिएको छ ।

पुस १८ गतेबाट सडक विस्तारको कामलाई तीव्रता दिन राति १० बजेदेखि बिहान ४ बजेसम्म यातायात रोकेर काम गरिँदै आएको छ ।

बीचमा पुस २९ गतेबाट माघ २ गतेसम्म माघेसंक्रान्ति पर्वका कारण बाटो नरोकिएपनि बुधबार (आज)बाट पुनः बाटो रोकेर काम गरिँदैछ ।

रातिको समयमा सवारी रोकिँदा त्यसको असर दिउँसो पर्ने हुँदा उक्त सडक खन्ड पार गर्न घन्टौं लाग्ने गरेको छ । जसका कारण दिनको काम पनि प्रभावित भएको छ ।

नारायणगढ–मुग्लिन सडक आयोजनाका इन्जिनियर शिव खनालकाअनुसार गएको १२ दिनमा एक दशमलव पाँच प्रतिशतमात्रै प्रगति भएको छ । जबकि, यो समयमा चार प्रतिशत कामको प्रगति गर्ने लक्ष्य राखिएको थियो ।

‘रातिमा ट्राफिक व्यवस्थापन गर्न झनै गाह्रो भएका कारण कामले गति लिन नसकेको हो’–उनले भने–‘राति १० बजेअगाडि मुग्लिनबाट छुटेका सवारी रामनगर आइपुग्दा राति १/२ बज्छ, रामनगरबाट छुटेका सवारी मुग्लिन पुग्न राति १/२ बज्छ, कतिखेर काम गर्ने ?’

रातिको समयमा सामान्य सवारी बिग्रँदा पनि घन्टौं जाम पर्ने र ट्राफिक व्यवस्थापन गर्न नसकिँदा भित्तो काट्ने काम गर्न नसकिएको इन्जिनियर खनालको भनाइ छ ।

उनले भने–‘रातिमा सामान्य जाम पर्दा पनि साना सवारीले ओभरटेक गरेर दुई लाइन सवारी भइदिँदा घन्टौं सवारी जाम पर्ने समस्या देखिएको छ ।’

रातको समयमाभन्दा कामलाई तीव्रता दिन दिउँसो नै सवारी आवागमन बन्द गरेर काम गर्नुपर्ने खनालले बताए ।

उनले भने–‘यसअघिकोजस्तै दिउँसो सवारी रोकेर कामलाई तीव्रता दिनुपर्छ भन्ने सोचमा आयोजना पुगेको छ ।’

आयोजना प्रमुख चन्द्रनारायण यादवले केही दिनमा सरोकारवाला निकायबीच छलफल गरेर यस विषयमा निर्णय गरिने बताए ।

दिउँसोमा यातायात आवागमन रोकेर भित्तो काट्ने र कालोपत्रे गर्ने काम एकैपटक गर्न सकिने उनको भनाइ छ ।

पुस १८ गतेदेखि रातको समयमा यातायात रोकेर भित्तो काट्ने काम गर्ने र दिउँसोको समयमा एकतर्फी सवारी सन्चालन गरेर कालोपत्रेको काम गर्ने निर्णय गरिएको थियो ।

रातिमा सवारी जाम पर्दा दिउँसोमा पनि त्यसको असर हुँदा राति र दिउँसो दुवै समयमा काम हुन नसकेको यादवले बताए ।

रातिमा ट्राफिक व्यवस्थापन गर्न कठिन हुने तर दिउँसोको समयमा ट्राफिक व्यवस्थापन गर्न सहज हुने उनको भनाइ छ ।

रातिको समयमा अत्यधिक चिसोका कारणले पनि काममा कठिनाइ भएको यादवले बताए । ‘अन्य मौसम भएको भए केही सजिलो हुने भएपनि अहिले काम गर्न कठिन भएको छ’–यादवले भने ।

प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले जाडो मौसम, बढ्दो सवारी चापलगायतका कारण कामको प्रगति नभएको भन्दै आयोजना र ठेकेदार कम्पनीले गत वर्षझैं दिउँसो सवारी रोकेर काम गर्न दबाब दिइरहेको बताए ।

उनले एक/दुई दिनमा पुनः छलफल गरी कामलाई तीव्रता दिन आवश्यक कदम चालिने बताए । रातमा सवारी रोकेर काम प्रभावकारी नभएमा दिउँसोमा रोकेर भएपनि काम गर्नुपर्ने उनको भनाइ छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक सन्तोष पन्त दिउँसोका सवारी दिउँसो नै कटाउन नसकिँदा रातिमा काम गर्ने वातावरण नबनेको बताउँछन् ।

उनले भने–‘हामीले काठमाडौंबाट आउने रात्रिबस १० बजेभित्र कटिसक्ने र काठमाडौं जान आउने सवारी बिहानीपखमात्रै आउने अनुमानका आधारमा राति काम गर्न सहज होला भन्ने अनुमान गरेका थियौं ।’

तर, अनुमान गरेजस्तो सहज हुन नसकेको प्रहरी निरीक्षक पन्तले बताए ।

उनले भने–‘गाडी बिग्रने, सडकमा सवारी राखेर चालक सुत्ने, ओभरटेक गर्ने, पुलमा एकतर्फी हुने हुँदा सवारी सहज हुन सकेन ।’ दिउँसो सवारी सहज नहुँदा त्यसको असर रातभर पर्ने गरेको उनको भनाइ छ ।

उनले भने–‘अहिलेपनि उक्त सडकखन्ड पार गर्न ५/६ घन्टा समय लाग्ने गरेको छ ।’

रातिको समयभन्दा दिउँसोको समयमा यातायात रोकेर काम गर्न सहज हुने देखिएको छ । दिउँसो काम भएमा राति यातायात सहज हुनेगरी सडक सफा गर्नुपर्ने पन्तले बताए ।

उनकाअनुसार सो सडकखन्ड हुँदै दैनिक ८ देखि १० हजार सवारी आवागमन गर्छन् ।

सवारी रोकेर सो सडकको घुमाउने, १६ किलो र चेपाङडाँडामा भित्तो काट्ने काम भइरहेको छ ।

घुमाउनेमा २०० मिटर, चेपाङडाँडा र १६ किलोमा ३०० मिटर भित्तो काट्ने काम बाँकी छ ।

हालसम्म उक्त सडकखन्डको ७२ प्रतिशत काम सम्पन्न र १४.७ किलोमिटर सडक कालोपत्रे भएको आयोजनाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्