
प्रादेशिक राजधानी कपिलबस्तु कायम गरिनुपर्ने माग गर्दै ३ दिने कपिलबस्तु बन्दले जनजीवन प्रभावित भएको छ । बुधवार सरकारले प्रदेश नम्बर ५ को अस्थायी राजधानी रुपन्देही तोकेपछि त्यसको विरोध गर्दै कपिलवस्तुवासी आन्दोलित भएका हुन् ।
प्रदेश नम्बर ५ को राजधानी कपिलवस्तु हुनुपर्ने भन्दै दबाब मुलक आन्दोलन गर्दै आएको कपिलवस्तु युवा संघर्ष समितिले प्रेस विज्ञप्ती जारी गर्दै सरकारको निर्णयको विरोध गरेको छ ।
संघर्ष समिति संयोजक रउफ अहमद खाँद्वारा हस्ताक्षरित विज्ञप्तीमा ४ वटा बुद्धले राज्य गरेको कपिलवस्तुलाई उपेक्षा गर्दै सरकारले राजधानी नतोकिएकोमा दुःख प्रकट गरिएको छ ।
कपिलबस्तु युवा संघर्ष समितीले ऐतिहासिक महत्व बोकेकोे जिल्ला कपिलवस्तुलाई पाँच नम्बर प्रदेशको राजधानी तोक्नुपर्ने माग गर्दै सरकारबिरुद्ध आन्दोलनलाई कडा बनाउने भएको छ ।
पाँच नम्बर प्रदेशको अस्थायी राजधानी रुपन्देहीमा तोकिएसँगै कपिलबस्तुमा त्यस्को विरोधमा बुधबारदेखि ३ दिने जिल्ला बन्द आह्वान गरिएको छ । संघर्ष समितिले बुधबार अबेर यो निर्णय गरेको कपिलबस्तु युवा संघर्ष समितिका संयोजक एवं एमाले नेता रउफ अहमद खाँले बताए ।
‘सरकारले हामीलाई अवहेलना गरेको छ, अब यसको जवाफ सरकारले पाउँछ, कुनै हालतमा पनि यहाँ मुकाम तोकिनुपर्छ,’ उनले भने ।
कपिलबस्तु युवा संघर्ष समितिको नेतृत्वमा जिल्लाका सम्पुर्ण राजनीतिक दलहरु, नागरिक समाज र विभिन्न सामाजिक संघसंस्थाहरुको समन्वयमा जिल्लाका सम्पुर्ण गतिविधिहरु बन्द हुने भएका छन् । जिल्लाको चन्द्रौटा, कृष्णनगर, गोरुसिंगे, जीतपुर, बहादुरगंज, पकडि, मर्यादपुर लगायतका प्रमुख क्षेत्रमा बामगठबन्धनमा आवद्ध ब्यक्ति तथा संघसंस्थाको समन्वयमा बिहीबारदेखि बन्दको घोषणा गरिएको हो ।
जिल्लाका कलकारखाना, विद्यालय, यातायात लगायतका सम्पुर्ण गतिविधि बन्द गरिने समितिले जनाएको छ । पुर्वपश्चिम राजमार्ग अन्तर्गत कपिलबस्तु खण्ड पुरै ठप्प पारिने समितिले जानकारी गराएको छ ।
यसअघि सरकारले अस्थायी मुकाम दाङ बनाउने प्रस्ताव गर्दा समेत कपिलबस्तुमा चक्काजाम एवं दवावमुलक प्रदर्शन गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्