
सरकारको निर्णयसँगै निर्वाचन आयोगले बुधबार नै प्रदेशसभा समानुपातिकमा विजयी सांसदको नाम घोषणा गरेको छ ।
निर्वाचन आयोगले प्रदेशसभा समानुपातिकमा सातओटै प्रदेशका गरी २२० निर्वाचित सांसदको नाम सार्वजनिक गरेको छ ।
सरकारले सिफारिस गरेका प्रदेशप्रमुखलाई अब राष्ट्रपतिले नियुक्त गर्नेछिन् । त्यसपछि प्रदेशप्रमुखले शपथग्रहण गरी आफूलाई तोकेको स्थानबाट कार्यारम्भ गर्नेछन् ।
प्रदेशप्रमुखले शपथ लिएपछि आयोगले उनीहरूलाई प्रदेशसभा निर्वाचन परिणाम हस्तान्तरण गर्ने निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।
प्रवक्ता ढकालले राष्ट्रियसभा निर्वाचनका लागि प्रकाशित कार्यतालिकाअनुसार प्रक्रिया अगाडि बढिरहेको जानकारीसमेत दिए ।
संविधानको धारा १८३ मा निर्वाचन परिणाम घोषणा भएको मितिले २० दिनभित्र प्रदेशप्रमुखले प्रदेशसभाको अधिवेशन आह्वान गर्नुपर्ने व्यवस्था छ । त्यस्तै, अबको ३० दिनभित्र प्रदेश सरकार गठन गर्नुपर्नेछ ।
निर्वाचन परिणाम घोषणा भएको ३० दिनभित्र प्रदेशप्रमुखले प्रदेशसभामा बहुमतप्राप्त दलको नेता वा दुई वा दुईभन्दा बढी दलको बहुमत समर्थन प्राप्त गर्ने व्यक्तिलाई मुख्यमन्त्री नियुक्ति गर्नुपर्ने प्रावधान छ ।
संविधानमा प्रदेशप्रमुखले प्रदेशसभामा बहुमतप्राप्त संसदीय दलको नेतालाई मुख्यमन्त्री नियुक्ति गर्ने र उसको अध्यक्षतामा प्रदेश मन्त्रिपरिषद गठन हुने उल्लेख छ ।
मुख्यमन्त्रीले नियुक्त भएको ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मतप्राप्त गर्नुपर्नेछ । प्रदेश सरकारका मुख्यमन्त्री र मन्त्रीले प्रदेशप्रमुखसमक्ष शपथ लिनुपर्नेछ ।
संविधानअनुसार प्रदेशसभाको पहिलो बैठक सुरु भएको मितिले १५ दिनभित्र प्रदेश सभामुख र उपसभामुखको निर्वाचन हुनेछ ।
प्रतिनिधिसभा समानुपातिकतर्फको मतपरिणाम भने राष्ट्रियसभाको निर्वाचनपछिमात्र सार्वजनिक हुनेछ ।
राष्ट्रियसभा निर्वाचनको परिणाम सार्वजनिक गर्न २ देखि ३ दिनसम्म लाग्ने निर्वाचन आयोगले जनाएको छ ।
मतपरिणामपछि आयोगले दलहरुलाई यसअघि निर्वाचन आयोगलाई दिएको बन्दसूचीअनुसार नामावली पठाउन ७ दिनको समय दिनेछ ।
प्रक्रियाअनुसार प्रतिनिधिसभा निर्वाचनको समानुपातिकतर्फको अन्तिम परिणाम आउन फागुन १० गते लाग्ने देखिन्छ ।
प्रतिक्रिया दिनुहोस्