
जिल्ला समन्वय समिति भक्तपुरले बिहीबार जिसस हलमा आयोजना गरेको छलफलले सरकारको निर्णयविरुद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।
सरकारले खटाएको प्राविधिक टोली, जिल्ला समन्वय समिति र दलीय प्रतिनिधिको सुझावलाई लत्याउँदै सरकारले गरेको निर्णय तत्काल सच्याउन माग गर्दै आन्दोलनको घोषणा गरिएको प्रतिनिधिसभा सदस्य एवं पूर्वमन्त्री महेश बस्नेतले बताए ।
जिससमा भक्तपुरको बैठकमा प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य, समानुपातिक सदस्य, दलीय प्रतिनिधि, बुद्धिजीवी, पत्रकार र नागरिक समाजसहित सरोकारवालाहरूको छलफलले बिहीबारैदेखि आन्दोलन गर्ने घोषणा गर्दै सरकारलाई तत्काल निर्णय सच्याउन माग गरेको हो ।
यसअघि, मध्यपुर ठिमीको शिक्षा विभागको कार्यालयमा प्रदेश कार्यालय र बोडेस्थित कृषि विकास बैंकको तालिम केन्द्रको हल संसद भवनका लागि उपयुक्त रहेको भन्दै सरकारले तोकेको समितिले सिफारिस गरेको थियो ।
सरकारले बुधबार प्रदेश नम्बर–३ को राजधानी हेटौंडालाई तोकेको थियो ।
बिहीबार दिउँसोदेखि सानोठिमीमा सहभागी भएर पहिलो चरणको आन्दोलन गरिने र त्यसपछि अन्य अन्दोलनका घोषणा गर्ने जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख नवराज गेलालले जानकारी दिए ।
नेता बस्नेतले भने–‘सरकारले अदूरदर्शी निर्णय गरेको छ । दिउँसोसम्म भक्तपुरलाई नै ३ नम्बर प्रदेश बनाउने निर्णय परिवर्तन भएको थिएन । तर, साँझ उपप्रधानमन्त्री कमल थापाको एकलौटी निर्णयअनुसार ३ नम्बर प्रदेशको राजधानी घोषणा गरेको जानकारी पाइयो । सरकारसँग तत्काल यो निर्णय सच्याएर भक्तपुरलाई नै प्रदेश राजधानी बनाउन माग गर्दै आन्दोलनको घोषणा गरिएको छ ।’
प्रदेश सांसदहरू राजेन्द्रमान श्रेष्ठ, हरिशरण लामिछाने, सरस्वती वाटी, जिल्लाका विभिन्न नगरपालिकाका नगरप्रमुख, उपप्रमुखलगायतले पनि सरकारको निर्णय स्वीकार्य नभएको भन्दै सच्याउन माग गरे । रासस
प्रतिक्रिया दिनुहोस्