विप्रेषण घट्न थाल्यो, शोधनान्तर घाटामा • Image Khabar Image Khabar


विप्रेषण घट्न थाल्यो, शोधनान्तर घाटामा


Imagekhabar
४ माघ २०७४, बिहीबार २०:५०

विप्रेषण घट्न थाल्यो, शोधनान्तर घाटामा

चालू आर्थिक वर्षको मंसिर महिनासम्ममा विप्रेषण आप्रवाह ०.८ प्रतिशतले ह्रास भइ २८५ अर्ब ४८ करोड रुपैयाँमा सीमित भएको राष्ट्र बैंकले जनाएको छ ।

अघिल्लो वर्षको यसै अवधिमा विप्रेषण आप्रवाह ६ प्रतिशतले बढेको थियो ।

फलस्वरुप खुद ट्रान्सफर आय ०.२ प्रतिशतले घटी ३३१ अर्ब रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ५.२ प्रतिशतले बढेको थियो ।

श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या समीक्षा अवधिमा २.५ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको यसै अवधिमा यस्तो संख्या ८.९ प्रतिशतले घटेको थियो ।

समीक्षा अवधिमा मलेसिया जाने कामदारको संख्यामा उच्च वृद्धि भएको छ । तर, साउदी अरब र कतार जानेको संख्यामा उल्लेख्य गिरावट आएको छ ।

यस अवधिमा मुलुकको समग्र शोधनान्तर ९ अर्ब २७ करोड रुपैयाँले घाटामा गएको छ । आयातमा उच्च वृद्धि र वैदेशिक रोजगारीबाट प्राप्त हुने विप्रेषणमा कमी आइ चालू खाता घाटा ४१ अर्ब ९५ करोड पुगेकाले समग्र शोधनान्तर घाटामा गएको हो ।

तथापि देशको वैदेशिक मुद्रा सन्चिती सुविधाजनक अवस्थामा रहेकाले बाह्य क्षेत्र स्थायित्व सबल अवस्थामै रहेको राष्ट्र बैंकको भनाइ छ ।

यसैगरी, मंसिर महिनामा उपभोक्ता मुद्रास्फीति ४.२ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको यसै महिनामा मुद्रास्फीति ३.८ प्रतिशत रहेको थियो ।

मुद्रास्फीति केही बढ्नुमा खाद्य तथा पेयपदार्थ समूहको प्रमुख भूमिका रहेको राष्ट्र बैंकको भनाइ छ ।

समीक्षा अवधिमा खाद्य मुद्रास्फीति २.८ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा खाद्य मुद्रास्फीति ०.६ प्रतिशत रहेको थियो ।

गत वर्षको तुलनामा यस समूहअन्तर्गत्को तरकारी, दुग्धजन्य पदार्थ तथा अन्डाको मूल्यमा वृद्धि भएका कारण समग्र खाद्य मुद्रास्फीति बढ्न गएको राष्ट्र बैंकले उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्