Logo २२ चैत्र २०८२, आइतबार | Mon Apr 6 2026


बाघको छालासहित काठमाडौंबाट तीनजना समातिए


0
Shares

काठमाडौं, मंसिर २५ । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले बाघको छालासहित तीनजनालाई मंगलबार पक्राउ गरेको छ ।

अवैधरुपमा वन्यजन्तुको आखेटोपहार खरिद–बिक्री तथा ओसार–पसार हुँदै गरेको सूचनाका आधारमा ब्यूरोको टोलीले काठमाडौं, बूढानीलकन्ठ नगरपालिका–१२, तेन्जिङचोकबाट अवैधरुपमा संरक्षित वन्यजन्तु बाघको छालासहित दोलखा, शैलुङ गाउँपालिका–४ का मानबहादुर तामाङ, गोरखा, वारपाक, सुलीकोट गाउँपालिका–३ की लोकमाया गुरुङ र सप्तरी, तिलाठी कोइलाडी गाउँपालिका–४ का अमर सिंहलाई पक्राउ गरेको ब्यूरोले जनाएको छ ।

पक्राउ परेका तीनैजनालाई कारबाहीका लागि डिभिजन वन कार्यालय काठमाडौंमा बुझाइएको छ ।

पक्राउ परेकाविरुद्ध राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ तथा साइटिस महासन्धि, १९७५ विरुद्धको अपराधअनुसार कारबाही चलाइने प्रहरी उपरीक्षक सुदीप गिरीले जानकारी दिए । रासस