नारायणगढ–मुग्लिन सडकमा फेरि बिहान १० देखि दिउँसो ४ बजेसम्म गाडी रोकिने • Image Khabar Image Khabar


नारायणगढ–मुग्लिन सडकमा फेरि बिहान १० देखि दिउँसो ४ बजेसम्म गाडी रोकिने


Imagekhabar
५ माघ २०७४, शुक्रबार १६:४३

नारायणगढ–मुग्लिन सडकमा फेरि बिहान १० देखि दिउँसो ४ बजेसम्म गाडी रोकिने

जिल्ला प्रशासन कार्यालय चितवनमा शुक्रबार सरोकारवालाबीच भएको छलफलपछि रातको समयमाभन्दा दिउँसोमा कामको प्रगति हुनसक्ने भन्दै यस्तो निर्णय गरिएको हो ।

बिहान १० देखि दिउँसो ४ बजेसम्म एक महिना सवारी रोकेर काम गरिनेछ ।

गत पुस १८ गतेबाट सडक विस्तारको कामलाई तीव्रता दिन राति १० देखि बिहान ४ बजेसम्म यातायात रोकेर काम गरिँदै आएको छ ।

बीचमा पुस २९ गतेदेखि माघ २ गतेसम्म माघेसंक्रान्ति पर्वका कारण बाटो नरोकिएपनि पुनः बाटो रोकेर काम गरिँदै आएको छ । दिउँसो नरोकिन्जेल रातिमा रोकेर काम गरिनेछ ।

गत वर्ष दिउँसो १० बजेदेखि ४ बजेसम्म सवारी रोकेर काम गरिएको थियो । त्यतिबेलाको काम प्रभावकारी भएको भन्दै ठेकेदार कम्पनी, नारायणगढ–मुग्लिन सडक आयोजना र परामर्शदाता कम्पनीले स्थानीय प्रशासनलाई दिउँसो नै सडक रोकेर काम गर्न माग गर्दै आएका थिए ।

यसअघि, परीक्षणकारुपमा रातिमा सवारी रोकेर काम गर्न स्थानीय प्रशासनले दबाब दिएको थियो ।

रातिको समयमा सवारी रोकिँदा त्यसको असर दिउँसो पर्ने हुँदा उक्त सडकखन्ड पार गर्न घन्टौं लाग्ने गरेको छ । जसका कारण दिनको काम पनि प्रभावित भएको छ ।

आयोजनाका प्रमुख चन्द्रनारायण यादवले रातिमा सवारी रोक्दा राति र दिउँसो दुवै समयमा काम हुन नसकेको बताए ।

उनले रातिमा रोक्दा शून्य दशमलव ६२ प्रतिशत दैनिक प्रगति भएको तर सवारी नै नरोक्दा शून्य दशमलव २७ प्रतिशत काम भएको बताए ।

उनले भने–‘रातमा सवारी रोक्दा दिउँसोको पनि काम प्रभावित भयो । जसले गर्दा प्रगतिमा चार गुणा कमी आयो ।’

प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले रातिमा सवारी रोकेर काम गर्दा प्रभावकारी प्रगति हुन नसकेपछि पुनः दिउँसोमा नै सवारी रोकेर काम गर्न लागिएको बताए ।

समयमा काम सक्नुपर्ने र जनताले दुःख नपाउने गरी काम गर्नुपर्ने बाध्यता रहेको उनले बताए ।

बैठकले तीन दिनभित्र आयोजनालाई कार्ययोजना पेस गर्न पनि भनेको छ ।

सो सडकको घुमाउने, १६ किलो र चेपाङडाँडामा भित्तो काट्ने काम बाँकी रहेको छ । घुमाउनेमा २०० मिटर, चेपाङडाँडा र १६ किलोमा ३०० मिटर भित्तो काट्ने काम बाँकी रहेको छ ।

हालसम्म उक्त सडकखन्डको ७२ प्रतिशत काम सम्पन्न र १४ दशमलव ७ किलोमिटर सडक कालोपत्र भएको आयोजनाले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्