
उच्च पहाडी र पहाडी १० जिल्ला समेटिएर बनेको प्रदेश नम्बर–६ मा करिब १५ लाख २० हजारमात्र जनसंख्या रहेको छ ।
करिब ३० हजार वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको यो प्रदेश जलस्रोत एवं पर्यटनमा धनी भएपनि गरिबी दर भने उच्च छ ।
राष्ट्रिय योजना आयोगकाअनुसार सात प्रदेशमध्ये सबैभन्दा बढी गरिबी दर रहेको प्रदेश यही हो । यस प्रदेशका नागरिकको वार्षिक प्रतिव्यक्ति आम्दानी ८०८ डलर रहेको जनाइएको छ ।
अहिलेको अवस्थामा यो प्रदेश आर्थिक, सामाजिक एवं राजनीतिक सहभागिताका हिसाबले कमजोर देखिन्छ ।
भौगोलिक क्षेत्रफलका हिसाबले सबैभन्दा ठूलो प्रदेश भएपनि प्रतिव्यक्ति आम्दानीका हिसाबले ७ नम्बर प्रदेशभन्दामात्र अगाडि देखिन्छ । अरु सबै सूचकमा हालसम्म अरु ६ ओटै प्रदेशभन्दा यो प्रदेश पछाडि देखिन्छ ।
प्राकृतिक सम्पदाको खानी रहेको यो प्रदेश हिमाली जडिबुटीको भन्डार मानिन्छ । स्रोत हुँदाहुँदै पनि त्यसको प्रयोग हुन नसक्दा अतिविपन्नका साथै पूर्वाधारमा पनि पछिपरेको प्रदेशकोरुपमा चिनिन्छ ।
जलविद्युत्मा पनि राम्रो सम्भावना बोकेको प्रदेश हो, यो । ७ नम्बर प्रदेशमासमेत पर्ने ९०० मेगावाटको निर्माणाधीन माथिल्लो कर्णाली पनि यहीँ छ ।
१० हजार ८०० मेगावाट प्रस्तावित कर्णाली–चिसापानी यही प्रदेशमा छ । कर्णालीबाटमात्रै हजारौं मेगावाट विद्युत् उत्पादन हुनसक्ने बताइन्छ ।
जल र जमिनमा धनी रहेको यो प्रदेश पर्यटन एवं प्राकृतिक स्रोत–साधनमा धनी भएपनि केन्द्रमा राजनीतिक पहुँच पुग्न नसक्दा पछिपरेको बताउँछन्, मध्यपश्चिम विश्वविद्यालयका उपप्राध्यापक निर्मल थापा ।
पर्यटकीय सम्भावना पनि उच्च भएको प्रदेश हो, यो । से–फोक्सुन्डो र रारा राष्ट्रिय निकुञ्ज यहीँ छ ।
यस्तै, पर्यटकीय गन्तव्यकारुपमा राराताल, से–फोक्सुन्डो ताल, जुम्ला र सिन्जा उपत्यका, मानसरोवरको ढोका हुम्ला, सुर्खेतको काँक्रेबिहारजस्ता धार्मिक, प्राकृतिक तथा साँस्कृतिक स्थानले राम्रो संख्यामा पर्यटक आकर्षण गर्नसक्छ ।
कर्णाली कोरिडोर, भेरी कोरिडोर, मध्यपहाडी पुष्पलाल राजमार्ग, अपर कर्णाली, भेरी–बबई डाइभर्सन, नलसिंगाड जलविद्युत् आयोजना, शारदा जलविद्युत् आयोजना, तिला जलविद्युत् आयोजनालगायतका ठूला र मझौला जलविद्युुत् आयोजना पनि यस प्रदेशका विकास र समृद्धिका आधार बन्नसक्ने देखिन्छ ।
बहुमूल्य जडिबुटी यार्सा, गुच्छी च्याउ, शिलाजितको खानी पनि यही प्रदेशमा छ । यो प्रदेश पूर्वाधारमा पछिपरेको प्रदेशकोरुपमा चिनिन्छ ।
अशिक्षा, बेरोजगारी, गरिबी यस प्रदेशको चुनौती रहेको उपप्राध्यापक थापाको भनाइ छ ।
प्रदेशको सवालीकरणका लागि भएका स्रोत–साधनको उचित एवं प्रभावकारी प्रयोग हुनसके सबैभन्दा गरिब प्रदेशकोरुपमा चिनिएपनि समृद्ध प्रदेश बन्नसक्ने विज्ञहरु बताउँछन् ।
प्रतिक्रिया दिनुहोस्