१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


प्रदेशसभा सदस्यको शपथ आइतबार, यसरी गरिँदैछ तयारी


0
Shares

राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त प्रदेशप्रमुखलाई शुक्रबार पद तथा गोपनीयताको शपथ गराइन् ।

त्यसलगत्तै निर्वाचन आयोगले उनीहरुलाई राष्ट्रपति कार्यालयमै प्रदेशसभा सदस्य निर्वाचनको अन्तिम नतिजासहितको प्रतिवेदन बुझाएको छ ।

प्रदेशप्रमुखलाई प्रदेशसभा सदस्य निर्वाचनको अन्तिम नतिजासहितको प्रतिवेदन बुझाइसकेपछि आयोगले उक्त प्रतिवेदन शुक्रबारै राजपत्रमा प्रकाशित गर्न पठाएको छ ।

प्रतिवेदन बुझेलगत्तै तत् प्रदेशका प्रमुखहरु आ–आफ्ना प्रदेशसभा सदस्यलाई पद तथा गोपनीयताको शपथका लागि व्यवस्था गर्ने तयारीमा लागेका हुन् ।

आयोगले यही माघ २४ गते हुने राष्ट्रियसभा सदस्यका लागि माघ ७ गते नामावली प्रकाशन गर्ने तालिका सार्वजनिक गरिसकेको छ ।

त्यस मितिअगावै प्रदेशसभा सदस्यले पद तथा गोपनीयताको शपथ लिइसक्नुपर्ने कानुनी बाध्यताका कारण प्रदेशप्रमुखहरु उक्त तयारीमा लागेका हुन् ।

प्रदेशसभा सदस्य निर्वाचनको अन्तिम प्रतिवेदन बुझेलगत्तै प्रदेशप्रमुखले आयोगका पदाधिकारी र सरकारका मुख्यसचिव तथा सचिवहरुसँगको बैठकमा आफ्नो कार्यालय, कर्मचारी एवं तत्काल गर्नुपर्ने जिम्मेवारीका विषयमा जिज्ञासा राखेका थिए ।

प्रदेश नम्बर–७ प्रदेशप्रमुख मोहनराज मल्लले प्रदेशसभा सदस्यहरु दुर्गम जिल्लामासमेत रहेकाले छोटो समयमा कसरी शपथ गराउने र कर्मचारीसहित भौतिक व्यवस्थापन कसरी हुन्छ भनी जिज्ञासा राखे ।

बैठकमा संक्रमणकालीन अवस्था र निर्वाचनको निर्धारित् तालिकालाई प्रभावित हुन नदिन काठमाडौंमै प्रदेशसभा सदस्यलाई शपथ गराउन सकिने विकल्पकाबारेमा छलफल भएपनि आफ्नै प्रदेशप्रमुखले आफ्नै प्रदेशमा शपथ गराउने उनले बताए ।

प्रदेश नम्बर–३ का प्रदेशप्रमुख अनुराधा कोइरालाले शपथका लागि आवश्यक जनशक्ति र भौतिक व्यवस्थापन तत्काल गर्न सबै सरकारी संयन्त्र युद्धस्तरमा परिचालनका लागि मुख्यसचिव लोकदर्शन रेग्मीको ध्यानाकर्षण गराए ।

प्रदेश नम्बर–२ का प्रदेशप्रमुख रत्नेश्वरलाल कायस्थले अत्यन्त छोटो समय र भोलि शनिबार परेकाले कठिन अवस्थाकाबारेमा उल्लेख गर्दै प्रदेशमा शपथको व्यवस्थापन गर्न राज्यका संयन्त्रलाई तत्काल परिचालन गर्न सुझाए ।

बैठकमा आयोगका प्रमुख आयुक्त डा. अयोधीप्रसाद यादवले प्रदेशसभा सदस्य राष्ट्रियसभा निर्वाचनको मतदाता हुने भएकाले मतदाता नामावली प्रकाशन गर्ने मितिअघि नै शपथग्रहण गराइसक्नुपर्ने कानुनी व्यवस्थाकाबारेमा जानकारी गराए ।

प्रदेशप्रमुखको शपथलगत्तै उनीहरुलाई तत्कालका लागि मन्त्रिस्तरको सुरक्षा तथा सेवा–सुविधा उपलब्ध गराइएको छ ।

सबै प्रदेशप्रमुखसँगको छलफलपछि आइतबार बिहान ११ बजेसम्म प्रदेशसभा सदस्यालाई सम्बन्धित प्रदेशमै शपथ गराइसक्ने निष्कर्ष निकालिएको छ ।

मुख्यसचिव रेग्मीले सबै प्रदेशमा शपथको आवश्यक तयारीका लागि सम्बन्धित प्रदेशमा रहेका क्षेत्रीय प्रशासक र प्रमुख जिल्ला अधिकारी नेतृत्वमा सबै सरकारी संयन्त्र परिचालन भइसकेको बताए ।

उनले सहसचिवको नेतृत्वमा सबै प्रदेशमा प्रदेशप्रमुखको कार्यालय, आवास, सुरक्षा, कर्मचारी खटनपटन भइसकेको जानकारी गराउँदै प्रदेशप्रमुखको कार्यालय व्यवस्थापनका लागि गृह सचिव, सामान्य प्रशासन सचिव, सहरी विकास सचिव, सुरक्षा निकायका प्रमुखसँग समन्वय गरेर काम अगाडि बढेको बताए ।

प्रदेशसभा पहिलो बैठक बसेको २० दिनभित्र प्रदेशप्रमुखले अधिवेशन आह्वान गर्ने संवैधानिक व्यवस्था छ । उक्त बैठकले मुख्यमन्त्री र प्रदेश सरकार चयन गर्नेछ ।