Logo १७ असार २०८३, बुधबार | Thu Jul 2 2026


स्टकमा मंगलबार पनि धर्ना


0
Shares

काठमाडौं, मंसिर २५ । धितोपत्र बजार सुधारको माग राख्दै अनशनमा बसेका लगानीकर्ताले मंगलबार पनि नेपाल स्टक एक्सचेन्जको कार्यालयमा धर्ना दिएका छन् ।

धर्नालाई नेपाली कांग्रेसका नेता रामहरि खतिवडाले ऐक्यबद्धता जनाएका छन् ।

सेयरबजार सुधारको यात्रामा आफ्नो साथ रहेको भन्दै उनले लगानीकर्तालाई विश्वासमा लिएर बजार विस्तार गर्नुपर्ने बताए ।

उनले मुलुकको आर्थिक अवस्थाको प्रतिविम्बकारूपमा रहेको सेयरबजारलाई व्यवस्थित बनाउन सरकारले विशेष पहल गर्नुपर्ने सुझाव दिए ।

लगानीकर्ताले मंगलबार तेस्रो दिन पनि अनशन जारी राखेका हुन् ।

सरकारले नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर शिवराज श्रेष्ठको संयोजकत्वमा एक कार्यदल गठन गरेको छ । सो कार्यदलले काम सुरु गरिसकेको छ ।

अर्थमन्त्री डा. युवराज खतिवडाले यही मंसिर २० गते उक्त कार्यदल गठन गरेका हुन् ।

कार्यदलको पहिलो बैठक यही मंसिर २३ गते बसेको थियो । बैठक पुनः मंगलबार बस्ने कार्यसूची रहेको छ ।

अर्थ मन्त्रालयले कार्यदललाई सात दिनभित्र सुझाव दिन समयावधि तोकेको छ । रासस