‘अवसरवाद’, ‘धनवाद’ र गुटगत राजनीतिमा कांग्रेस, अब कसरी अघि बढ्ने ? (भिडियो) • Image Khabar Image Khabar


‘अवसरवाद’, ‘धनवाद’ र गुटगत राजनीतिमा कांग्रेस, अब कसरी अघि बढ्ने ? (भिडियो)


Imagekhabar
६ माघ २०७४, शनिबार १३:५८

‘अवसरवाद’, ‘धनवाद’ र गुटगत राजनीतिमा कांग्रेस, अब कसरी अघि बढ्ने ? (भिडियो)

पार्टीभित्र नेतृत्वले नातागोता, अवसरवादी र गुटगत राजनीतिलाई मात्र प्रश्रय दिँदा जसले कांग्रेस बचायो, त्यही पुस्ता पीडित बनेको भन्दै केन्द्रीय सदस्यहरुले गुट त्याग्ने संकल्प नेतृत्वले गर्नुपर्ने बताएका छन् ।

नेपाली कांग्रेसको विधानअनुसार पार्टी महाधिवेशन भएको दुई महिनाभित्रै पदाधिकारी तथा केन्द्रीय समितिलाई पूर्णता दिइसक्नुपर्छ । तर महाधिवेशन भएको दुई वर्ष बितिसक्दा समेत दुई महिनामा गर्नुपर्ने काम भएको छैन ।

जे भएका छन््, ती पनि विधानअनुसार छैनन् । पार्टीको केन्द्रीय समितिलाई पूर्णता दिन नसकेको नेतृत्वले विभाग तथा अन्य समितिहरु बनाउने विषयमा त सोच्नै भ्याएको छैन ।

यसको मुख्य कारण नेतृत्व मात्र भने होइन, पार्टी भित्र मौलाएको गुटगत राजनीति पनि हो । कुनै काम गर्न लाग्यो कि पार्टीभित्रको प्रतिपक्षीहरुको विरोध पनि थामिसक्नु छैन ।

त्यसमाथि आफैं स्वच्छ चरित्रको काम गर्न नसक्ने नेतृत्व हुँदा थप समस्या आउने त भैगो ।

हाल सम्पन्न भएका तीन तहको निर्वाचनमा नमीठो हार बेहोरे पनि कांग्रेस नेतृत्व चेती हाल्ने जस्तो देखिएको छैन ।

केन्द्रीय सदस्यहरु पनि कुनै न कुनै रुपमा गुटगत राजनीतिलाई इँटा थपिरहेका छन् ।

दोषको भाग कम पर्ने भएपछि उनीहरु क्रान्तिकारी कुरा गर्न पछि भने छैनन् । पार्टी सुधारका लागि विभिन्न अभियान अहिले कांग्रेसभित्र चलेकै छ ।

युवा पुस्ता, दोस्रो तहका पुस्ता, स्थायी प्रतिपक्ष जस्ता देखिने गुटहरु पनि अहिले सक्रिय छन् ।

तर, कांग्रेसलाई सुधार गर्न पार्टीको विधान पालनालाई मुख्य ध्यान दिनुपर्ने कांग्रेस केन्द्रीय सदस्य अजुर्न नरसिंह केसी बताउँछन् ।

कतिपय नेताहरु गुटगत राजनीतिमा खासै धेरै चासो राख्दैनन् । तर, गुटगत राजनीतिको पक्षपोषण नगर्दा पार्टीमा प्रभाव राख्न नसक्ने विडम्बना त छंदैछ ।

कांग्रेस केन्द्रीय सदस्य डा. नारायण खड्का पार्टीलाई विधिसम्मतरुपमा अघि बढाउन सके कांग्रेस जनताको मनमा अझै छ भन्छन् ।

खड्का संस्थागत निर्णयलाई मात्र कार्यन्वयन गर्दै विधान पूर्णपालना गर्दै गुटगत राजनीति अन्त्यको घोषणा गर्न सके कांग्रेस आफैं सुध्रने बताउँछन् ।

युवा पुस्ताको बुझाई पनि खासै फरक छैन । नेतृत्वले निर्णय गर्ने र कार्यान्वयन भइसकेपछि मात्र थाहा पाउने पीडाबाट गु्रजिएको यो पुस्ता पनि विधान पालना र सामूहिक छलफल कांग्रेस सुधारको शर्त ठान्छ ।

केन्द्रीय सदस्य बद्री पाण्डे विधानको पालना नै कांग्रेस सुधारको प्रस्थान बिन्दु ठान्छन् । गुटगत राजनीति, धनको प्रभाव र नातागोताबाट माथि उठ्न नसक्दा कांग्रेस खस्कंदै गएकोमा कुनै विवाद छैन ।

लामो इतिहास बोकेको पार्टी यस्ता गलत क्रियाकलापबाट सुध्रिएर साँच्चै आफ्नो इतिहासलाई जिवन्त दिन चाहन्छ वा इतिहासमै सिमिति हुन्छ ?

अबका दिनमा उसको नेतृत्व तहबाट हुने कार्यसम्पादनबाट देखिंदै जाने छ ।

(भिडियो)

प्रतिक्रिया दिनुहोस्