बुटवलमा यस्तो छ, प्रदेश सांसदको शपथको तयारी • Image Khabar Image Khabar


बुटवलमा यस्तो छ, प्रदेश सांसदको शपथको तयारी


Imagekhabar
६ माघ २०७४, शनिबार १७:२४

बुटवलमा यस्तो छ, प्रदेश सांसदको शपथको तयारी

शपथस्थल बुटवल उद्योग वाणिज्य संघको हलमा आवश्यक कुर्सी र अरु व्यवस्थापनलगायतका काम तीव्र बनाइएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीले जानकारी दिए ।

सांसदहरुको शपथका लागि प्रदेशप्रमुख उमाकान्त झा बुटवल आइपुगिसकेका छन् । प्रदेशप्रमुख झाले आइतबार (भोलि) बिहान १० बजे पदभारग्रहण गर्नेछन् ।

प्रदेशप्रमुखको सचिवालयका लागि रुपन्देही व्यापार संघको भवन तयार पारिँदैछ ।

प्रदेशप्रमुखको पदभारग्रहणलगत्तै आइतबारै बिहान ११ बजे बुटवल उद्योग वाणिज्य संघको सभाहलमा सांसदको शपथ गराइनेछ । शपथको तयारीका लागि जिल्लाका सरकारी कर्मचारी खटिएका छन् ।

प्रदेशसभाका प्रत्यक्षतर्फ निर्वाचित ५२ जना र समानुपातिकबाट निर्वाचित ३५ जना गरी ८७ जनाको शपथ एकसाथ हुनेछ । शपथग्रहण हुने सभाहललाई नै तत्कालका लागि प्रदेशसभा बैठकस्थलकारुपमा प्रयोग गर्ने तयारी छ ।

शपथ कार्यक्रमका लागि जिल्लाको शान्ति–सुरक्षाको अवस्था बलियो बनाइएको रुपन्देहीका प्रहरी प्रमुख श्याम ज्ञवालीले जानकारी दिए ।

उद्योग वाणिज्य संघको सचिवालयमा नै सभामुख र उपसभामुखको कार्यकक्षसहित संसद सचिवालय राखिने बताइएको छ ।

प्रदेशप्रमुखको निवासका लागि रामनगरस्थित सीप विकास केन्द्रको भवन छनोट गरिएको प्रजिअ मैनालीले बताए ।

५ नम्बर प्रदेशका मन्त्रालयका लागि बुटवलस्थित श्रम कार्यालयका नवनिर्मित ६ तले भवन, सरकारी वकिलको कार्यालय भवन, आन्तरिक राजश्व कार्यालयको भवन, राजश्व अनुसन्धानको भवनमा तयारी थालिएको छ ।

प्रतिक्रिया दिनुहोस्