
थाइल्यान्डको बैंककमा स्वास्थ्य उपचार गरेर फर्किएपछि एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच औपचारिक र अनौपचारिक छलफल भइरहेको छ ।
एकीकरण प्रक्रियाका लागि गरिएका छलफल सैद्धान्तिक भन्दापनि सांगठनिक विषयमा केन्द्रित छन् ।
गत असोज १७ गते पार्टी एकीकरण गर्ने भन्दै चुनावी तालमेल घोषणा गरेको मुलुकका दुई ठूला कम्युनिष्ट पार्टी एमाले र माओवादी केन्द्रबीचको एकीकरणले पछिल्ला दिनमा गति लिएको छ ।
दुई पार्टीका अध्यक्षबीच नेतृत्व, वैचारिक राजनीतिक विषयमा कुराकानी भएपनि मूर्तरुप लिइसकेको छैन ।
दुई पार्टीका शीर्ष नेताहरुबीच होस् या एकता संयोजक समितिको बैठक, छलफल पार्टीको आगामी सिद्धान्तभन्दा पदीय भागबन्डाकेन्द्रित हुने गरेका छन् ।
एकीकरणपछि पार्टी नेतृत्वको विषयमा लगभग सहमति भइसकेको दुवै पार्टीका नेताले दाबी गरेपनि पार्टी सिद्धान्त के हुने भन्नेमा खासै छलफल हुन सकेको छैन् ।
यसले दुई पार्टी प्राकृतिक रुपले नै एकीकरण नहुने हो कि भनेर दुवै पार्टीका कार्यकर्तामा आशंका उब्जिएको छ ।
तर, एमाले नेता नेता सुवासचन्द्र नेम्वाङले एकता सांगठनिक र सैद्धान्तिक सहमति गरेरै हुने दाबी गरे ।
नेकपा एमालेले जनताको बहुदलीय जनवादलाई मुख्य सिद्धान्त मानेको छ भने माओवादी केन्द्रको मुख्य सिद्धान्त माओवाद हो ।
तर, पार्टी एकीकरणपछि एकीकृत पार्टीको सिद्धान्त जनताको बहुदलीय जनवाद हुने कि माओवाद हुने भन्नेमा अहिलेसम्म छलफल भएको छैन ।
अहिलेसम्मका छलफल केवल सांगठनिकरुपमामात्र केन्द्रित छन्, त्योपनि शीर्ष नेताहरुको स्थिति के हुने भन्नेमा ।
माओवादी केन्द्रका नेता देवेन्द्र पौडेलले पार्टी एकताको छलफलमा सिद्धान्तभन्दा पदीय भागबन्डाले प्राथमिकता पाएको स्वीकार गरे ।
प्रतिक्रिया दिनुहोस्